कोरोना: कसैलाई ‘डोरी’ भयो, कसैलाई ‘सर्प’

कतै सुनेको कथा हो । एकादेशमा एउटा राज्यका दृष्टिविहीनहरुलाई हात्ती कस्तो हुन्छ ? भनेर जान्न मन लागेछ । उनीहरुको चाहना राजासमक्ष पुगेपछि दरबारका आठपहरियालाई हात्तीको बन्दोवस्त गरिदिन आदेश भएछ । फलस्वरुप दृष्टिविहीनहरुले हात्तीलाई छामेर चाहना पुरा गरेछन् । पछि महाराजले हात्ती कस्तो हुँदोरहेछ ? भनेर सोद्धा जवाफ फरक फरक परेछ । अहिले कोरोना पनि आँखा नदेख्नेहरुले हात्तीलाई छामेर बुझे जस्तै भयो ।

कोरोना संक्रमित भएर लक्षण बिनानै संक्रमण मुक्त हुनेहरुले कोरोना लाई डोरी भन्दा पनि सामान्य बुझे, सामान्य लक्षण मात्र देखिएर ठीक हुनेहरुले सामान्य रुघाखोकी भन्दा पनि कमजोर बुझे, परिवारको व्यक्ति संक्रमित भएर गुमाउने हरूले विषालु सर्प भन्दापनि खतरनाक बुझे, संक्रमित भएर आईसीयु र भेन्टिलेटरसम्म पुगेर फर्किनेहरुले कोरोना लाई अजंगको पहाड जस्तै बुझे । लगभग ८० प्रतिशत संक्रमण भएकाहरु कुनै लक्षण बिना ठिक हुने हुँदा कोरोना संक्रमण केही पनि होइन भन्ने धारणा विकास हुँदै जानु एउटा डरलाग्दो पक्ष हो । सामान्य सावधानी पनि नअपनाउनु र वर्तमान अवस्थालाई गम्भीरताका साथ नलिई रहेको कारणले आज एकैदिन चार हजारभन्दा बढी संक्रमित थपिन थालेका छन् ।

साँच्चै भन्नुपर्दा कोरोना (कोभिड-१९) यस्तो संक्रमण हो जुन धेरै छिटो र सजिलै एकअर्कामा फैलिनसक्ने क्षमता राख्दछ । संक्रमण छिटो फैलिने भएपनि मृत्युदर भने अन्य संक्रमणहरू भन्दा निकै कम रहेको छ । कोरोना भाइरस कै इतिहास हेर्दा पनि सन २००२ मा चीनबाट सुरु भएको सार्स २८ वटा देशमा फैलिएको थियो जसमा ८ हजार मानिस संक्रमित भएका थिए भने तीमध्ये ७७४ जनाको मृत्यु भएको थियो। त्यस्तै साउदी अरेबियाबाट सन २०१२ मा सुरुभएको मार्सबाट २५ सय जना संक्रमित हुँदा ८५८ जनाको मृत्यु भएको थियो । सार्स र मार्स को संक्रमण फैलने दर निकै कम भएपनि मृत्युदर भने अत्याधिक रहेको देखिन्छ। यो अवस्थालाई हेर्दा कोभिड-१९ संक्रमण बाट मृत्यु दर भने अत्यन्तै न्यून रहेको छ ।

नेपालमा कोभिडले पार्नसक्ने प्रभाव ?
हाल संक्रमितको संख्या एक लाखको हाराहारी पुग्दा संक्रमण मुक्त हुनेको संख्या ७१ हजारभन्दा बढी छ । देशभरिमा २६ हजार हाराहारीमा सक्रिय संक्रमित रहँदा देशका अधिकांश आइसियु भरिसकेका छन् र ठाउँ नभएको जानकारी विज्ञप्तिमार्फत विभिन्न अस्पतालहरुले जानकारी गराएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या एक लाखको हाराहारीमा पुग्ने हो भने र तीमध्ये दुई प्रतिशत मात्रै खराब खालको लक्षण सहित आउने हो भने देशको स्वास्थ्य क्षेत्र प्यारालाइसिस हुने अवस्थामा पुग्नेछ । हाम्रोजस्तो देश जहाँ स्वास्थ्यकर्मीको अभाव र स्वास्थ्य क्षेत्र पूर्णरुपमा व्यवस्थित भइनसकेको अवस्थामा यस्तो अवस्था सिर्जना हुन आएमा सामान्य लक्षण भएकाले समेत उपचार नपाएर ज्यान गुमाउनुपर्ने निश्चित देखिन्छ ।

लेखक रजहर नवलपुरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक हुन् ।

कमेन्टहरु
Loading...