गण्डकी प्रदेशमा थप २ जनाको कोरोनाबाट ज्यान गयो

पोखरा । गण्डकी प्रदेशमा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । स्याङ्जा तथा नवलपरासीका १/१ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।

स्याङ्जाको आँधीखोला गाउँपालिका ६ स्थायी घर भएका ८१ वर्षीय कोरोना संक्रमित वृद्धको ज्यान गएको छ । स्याङ्जा घर भए पनि उनी बुटवल बस्दै आएका थिए । उनको शुक्रबार राति साढे ११ बजे पोखराको गण्डकी मेडिकलमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई मृगौला, मुटु तथा पिसाबमा इन्फेक्सन लगायतका समस्या रहेको थियो । उनलाई हिजो मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको चिकित्सकले बताएका छन् ।

यता नवलपरासी (ब.स.पू) को गैंडाकोटका १ जनाको ज्यान गएको छ । गैंडाकोट १ का ३६ वर्षीय पुरुषको शुक्रबार दिउँसा ३ बजेर ५५ मिनेट जाँदा कलेज अफ मेडिकल साइन्स चितवनमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई असोज २० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४० पुगेको छ ।

पोखरामा आज थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा ३ की ३० वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ । उनी पोखराको ओम अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् ।

पोखरा ८ का ३८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै ३१, ३४ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

पोखरा १२ का ४९ वर्षीय १ जना तथा वडा नम्बर १७ का ३० वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा ३३ का ३८ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।

तनहुँमा ७ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिका १ का ७२ वर्षीय वृद्धलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ३ जनालाई संक्रमण पुष्टि भएको छ । जसमध्ये २७ वर्षीय पुरुष तथा २३ र २९ वर्षीय महिला रहेकी छिन् । २३ वर्षीय महिला सोही अस्पतालका नर्स हुन् भने २९ वर्षीय महिला तथा २७ वर्षीय पुरुष सोही अस्पतालको प्रशासनमा कार्यरत छन् ।

जिल्लाको ऋषिङ गाउँपालिकाका ३ जनालाई संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर १ का २० वर्षीय तथा वडा नम्बर ४ का २१ र ३१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । उनीहरु भारत, कतार तथा साउदी अरबबाट आएका हुन् ।

गोरखामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको भीमसेनथापा ६ का ३१ वर्षीय पुरुष सहित गण्डकी ४ का २३ र ६३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यता बाग्लुङमा ११ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको ताराखोला ३ का ३३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी जापानबाट बाग्लुङ आएका हुन् ।

त्यस्तै जैमिनी ५ तथा १० का ३४ र ४२ वर्षीय पुरुष तथा ७ की ३० वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ । वडा नम्बर १० का ४२ वर्षीय तथा ५ का ३४ वर्षीय पुरुष भारत तथा बाराबाट बाग्लुङ आएका हुन् ।

जिल्लाको बाग्लुङ नगरपालिका १ का ३५ वर्षीय महिला र ३८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नम्बर ५ का ५५ वर्षीय तथा वडा नम्बर ७ का ४५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सोही नगरपालिका अन्तरगत वडा नम्बर ९ का २३ र ३० वर्षीय तथा वडा नम्बर १० का ४३ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ६ सय ४८ पुगेको छ ।

 

कमेन्टहरु
Loading...