लमजुङ । लमजुङ सदरमुकाम बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । हिमाली जिल्ला मनाङ र लमजुङलाई कार्यक्षेत्र बनाई बिहीबारदेखि कार्यलय सुचारु गरिएको हो ।
कार्यालय स्थापनापछि करको दायरा बिस्तार गर्न र करदातालाई सहज रुपमा सेवा उपलब्ध गराउन सकिने कार्यालय प्रमुख कर अधिकृत सुशील लम्सालले बताए । व्यक्तिगत प्यान, प्यान दर्ता, नवीकरण, खारेजी, आय व्यय विवरण, कर दाखिला लगायतका सेवाहरू लिन पाउने गरी व्यवस्था मिलाइएको कार्यालय प्रमुख लम्सालको भनाई छ । उनका अनुसार अब लमजुङ र मनाङका सेवाग्राहीले बेसीशहरबाटै कर सम्बन्धी सेवा लिन पाउनेछन् ।
बेसीसहरमै कर कार्यालय खुलेपछि कर तिर्न छिमेकी जिल्ला तनहुँ सदरमुकाम दमौली पुग्नुपर्ने स्थानीयको बाध्यता हटेको छ । यसअघि मनाङ र लमजुङका करदाता कर तिर्न दमौली पुग्थे ।
जिल्लामै कर सम्बन्धी सेवा सञ्चालन भएसंगै यस क्षेत्रका सेवाग्राहीलाई सहज भएको छ । लमजुङका ८ हजार २ सय ९० र मनाङका ५ सय ९७ करदाता रहेको कार्यालय प्रमुख लम्सालले बताए ।
व्यवसायी र करयोग्य आम्दानी गर्नेलाई करको दायरामा ल्याउने सरकारको लक्ष्य पुरा हुने बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।