तनहुँ । तनहुँस्थित भानु नगरपालिकाको कार्यालय हाल कायम रहेको स्थानबाट अन्यत्र सार्न भइरहेको चलखेल विरुद्ध सर्वोच्च अदालतले तत्काल नसार्न अन्तरिम आदेश दिएको छ ।
न्यायधीष हरिप्रसाद फुयाँलको एकल इजलासले तत्कालै अन्त कतै नसार्न अन्तरिम आदेश दिएको हो । हालसम्म वडा नम्बर २ स्थित फुस्रेटारमा रहेको नगरपालिकाको कार्यालय गत असोज १ गतेबाट वडा नं १ स्थित भन्सारमा रहेको सहरी विकास आयोजनाको भवनबाट ३ वर्षको लागि भाडामा लिएर काम कारवाही सुरु भएको थियो ।
सो विरुद्ध वडा नं. २ का अध्यक्ष अर्जुनबहादुर केसीले दिएको रिटको आधारमा सर्वोच्चले सो निर्णय गरेको हो । सर्वोच्चको अन्तरिम आदेशमा दुवै पक्षसग छलफल गरी टुगो लगाउने उद्देश्यले असोज २९ गते छलफलका लागि दुवै पक्षलाई झिकाउन आदेश समेत दिएको छ ।
नगरपालिका सार्ने विषयलाई लिएर स्थानीयले विरोध गर्दै आएका छन् । उनीहरुले भुमाफियाको चलखेलमा परेर नगर प्रमुख उदयराज गौलीले यस्तो गलत निर्णय लिएको बताएका छन् ।
फुस्रेटारमा नगरपालिकाको कार्यालय रहिरहँदा सबैलाई पायक पर्ने, सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसकेको, जग्गाको कुनै कमी नभएको, सबै नगरवासीलाई सहज बाटोको व्यवस्था भएकोले सो कार्यालय फुस्रेटारबाट अन्यत्र सार्न नहुने संघर्ष समितिका अध्यक्ष भक्तबहादुर कुँवरले बताए ।
उनले कुनै हालतमा जनप्रतिनिधिलाई जनहित विपरित काम गर्न नदिने र त्यसको लागि नगरवासीले जस्तोसुकै मुल्य चुकाउन पछि नपर्ने बताए । त्यस्तै वार्ता समितिको संयोजक सहदेव अधिकारीले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको समेत अवज्ञा गर्दै भन्सारबाटै कामकारबाही चलाइरहेको प्रति खेद प्रकट गरेका छन् ।