चितवन । चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमित बिरामीको सफल उपचार गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल उपचार गरेको हो । गत भदौ ३० गते कोरोना पोजिटिभ सहित सो अस्पताल भर्ना भएका उनमा ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या देखिएको थियो ।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोभिड आइसियुमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको अस्पतालका प्लाज्मा थेरापी कोअर्डिनेटर कन्सल्टेन्ट फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिएका छन् ।
पुरुषलाई यही असोज ७ गते प्लाज्मा थेरापीबाट उपचार गरिएको उनले बताए । उक्त अस्पतालले प्लाज्मा थेरापी उपचारमा पहिलो बिरामीमै सफलता पाएको डा सापकोटाले जानकारी दिएका छन् । करिब १५ दिन आइसियु र ४ दिन वार्डमा उपचारपछि पुरुष निको भएर मंगलबार घर फर्किएका छन् ।
प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना संक्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको छ ।
अस्पतालले अन्य संक्रमित भएर निको भएकालाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ ।
कोरोना भाइरस संक्रमणका कारण मृत्यु नजिक पुगेका बिरामी प्लाज्मा थेरापी उपचार विधिबाट निको भएर घर फर्किंदा उपचारमा संलग्न चिकित्सकदेखि प्लाज्मा दिने दातासमेत उत्साहित र खुसी देखिएका थिए ।
उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको अथक प्रयास र लगनशीलताले जटिल अवस्थामा पुगेका कोरोना संक्रमितलाई बचाउन सकिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए । रासस