हाइकर्स क्लब नेपालको १३ औं हाइकिङ सम्पन्न

पोखरा । हाइकर्स क्लब नेपालको १३ औं हाइकिङ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने उद्देश्यले स्थापना भएको हाइकर्स क्लब नेपालले विगत १ वर्ष देखि कास्की जिल्ला भित्रका गाउँहरु अवलोकन गर्दै हरेक महिनाको अन्तिम शनिबार हाइकिङ सञ्चालन गर्दै आएको छ ।

यसै क्रममा कोरोना महामारी र लकडाउनका कारण स्थगन भएको हाइकिङ पुनः सन्चालन गरि निरन्तरता दिन पोखरा १७ र २१ को सिमाना दोबिल्लादेखि ग्रामीण बस्ती हुडिकोट, जिब्रेढुंगा हुँदै पोखरा ३३ भरतपोखरीसम्मको करिब ५ किमिको यात्रा गरेर हाइकिङ भाग १३ सम्पन्न गरिएको छ ।

हाइकिङको टोलीलाई जिब्रेढुंगा सामुदायिक होमस्टेका पदाधिकारी तथा आमा समूहले निर्माणाधीन सामुदायिक भवनमा स्वागत गरेका थिए । होम स्टेका सचीव रनबहादुर गुरुङले होमस्टेको बारेमा जानकारी गराए ।

हाइकिङको पुर्व सन्ध्यामा गरिएको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यले हरेक क्षेत्रमा निस्वार्थ कर्मको खाचो रहेको जोड दिएका छन् । सचेत नागरिकले राजनीतिमा हस्तक्षेप गर्नुपर्ने खाँचो औंल्याउँदै सकारात्मक र सर्वहितका कार्यमा आफ्नो सदा साथ र सहयोग रहने उनको भनाई छ ।

कार्यक्रमका समाजसेवी भरत रायमाझीले आन्तरिक पर्यटनलाई बढुवा दिदै ग्रामिण पर्यटनको प्रवद्धन गर्न हाइकिङ आवश्यक रहेको बताएका छन् । कार्यक्रममा स्थापनादेखि संस्थालाई आ–आफ्नो तवरबाट सहयोग पु¥याउँदै आएका पत्रकार मनोज घर्ती मगर, निर्माण व्यवसायी एवं समाजसेवी लिलकाजी गुरुङ, लोगो डिजाइनर प्रवेश तुलाचनलाई क्लबको तर्फबाट मायाको चिनो प्रदान गरिएका छ । क्लबका अध्यक्ष प्रविन तुलाचनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण रानाभाट र सञ्चालन क्लवका सदस्य मधु अधिकारीले गरेका थिए ।

कमेन्टहरु
Loading...