बेनी–दरबाङ सडकमा सास्ती

म्याग्दी । म्याग्दी जिल्लाका लागि महत्वपूर्ण निकास ‘लाइफ लाइन’ मानिएको बेनी–दरबाङ सडकको ट्र्याक खुलेको १५ वर्षसम्म पनि स्तरोन्नतिको काम हुन सकेको छैन ।

चौबीस किलोमिटर दूरीको सडक स्तरोन्नति र कालोपत्र गर्न सञ्चालित आयोजनाको ठेक्का सम्झौताको अवधि सकिनै लाग्दा आधा मात्रै भौतिक प्रगति भएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङको विसं २०६३ असोजमा ट्र्याक खुलेको थियो ।

वर्षात्का समयमा बाढी र पहिराले दैनिकजसो अवरुद्ध हुने यो सडक हिउँदमा धुलाम्मे भएर हैरान बनाउने सवारी चालक ओमप्रकाश विकले बताए । साँघुरो र ग्रेड नमिलेको सडकमा नाली छैन । पाखोबाट खसेको पहिराले सडकमा हिलो जमेको छ । नाली नभएर सडकबाटै भलको खोलो बग्छ । जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने अर्का सवारी चालक जीवन थापाले बताए ।

गाडी परिवर्तन गर्नुपर्ने, महँगो भाडाका साथै दुर्घटनाको जोखिम बढेको छ । सर्जेनी, फापरखेत र बाङ्गे पहिरामा खस्ने पहिराले दैनिकजसो सडक अवरुद्ध हुन्छ । तत्कालीन जिल्ला विकास समितिअन्तर्गतको ड्रिलीप परियोजनामार्फत सडक सुधार आयोजना सञ्चालन भएपनि प्रभावकारी भएन ।

तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले विसं २०७४ असोज ४ गते रु ४५ करोड ५३ लाख ७२ हजार मा बेनीदेखि १२ किलोमिटर ५०० मिटर दूरीमा पर्ने मङ्गला गाउँपालिकाको सिमसम्मको सडक कालोपत्र गर्नका लागि समानान्तर–लामा जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

लामा निर्माण कम्पनीका सञ्चालक प्रतिनिधिसभा सदस्य जिपछिरिङ लामा हुनुहुन्छ भने ठेक्काको आधिकारिक व्यक्ति दयाराम थापा । विसं २०७५ पुसमा सङ्घबाट प्रदेशको पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण भएको यस सडक आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरबाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्र गर्न रु २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का पाएको थियो ।

सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिको अझै तयारी छैन । कार्यालयले स्तरोन्नतिको काम शुरु नगर्दा बीचको सडक अलपत्र परेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

कोरोनाको जोखिम र लकडाउनका कारण सुस्ताए पनि दोस्रो प्याकेजका ठेकेदारले मर्मत गरेर यातायात सञ्चालनको वातावरण बनाएका छन् । पहिलो प्याकेजका ठेकेदार सम्पर्कविहीन हुँदा सास्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

सडकलाई ११ मिटर फराकिलो र सात मिटर चौडाइमा कालोपत्र गर्न डोजर चलाएर भत्काइएको पाखो त्यसै छोड्दा सडक आसपासका बस्तीमा पहिराको जोखिम बढेको छ । ठेकेदारले भत्काएको ठाउँमा समयमै संरक्षणको काम नगरिदिँदा उठिबास भएको बेनी–६ डम्मराकी लक्ष्मी थापाले बताए ।

थापाको सात जनाको परिवार डम्मरामै छिमेकीको दुई वटा कोठा भाडामा लिएर बसेका छन् । विसं २०७६ माघ ४ गते सकिनुपर्ने यो आयोजनाको पहिलो प्याकेजको ठेकेदारसँग भएको सम्झौताको म्याद यही असोज २३ गतेसम्मका लागि थपिएको थियो ।

गत असार मसान्तको भौतिक प्रगति करिब ५० प्रतिशत भएको पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर सन्तोष अर्यालले बताए । पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले ठेकेदारलाई चौथो पटकको पत्राचारपछि सम्पर्कमा ल्याएको बताए ।

यो सडकअन्तर्गत मङ्गला र मालिका गाउँपालिकाको सिमानामा पर्ने दुखुखोलामा १० वर्ष लगाएर गत कात्तिकमा निर्माण सकिएको मोटरे गुड्ने पुलको दायाँ र बायाँतर्फको दुवै भागमा लगाइएको पर्खाल बाढीले बगाएपछि जोखिम बढेको छ ।

समानान्तर–लामा जेभीका प्रोजेक्ट म्यानेजर गोविन्द भुुसालले कोरोनाको जोखिम र लकडाउनका कारण रोकिएको बेनी–जोमसोम सडक आयोजनालाई निरन्तरता दिन मजदूर ल्याएर आउन लागेको बताए ।
रासस

कमेन्टहरु
Loading...