पोखरा । कोरोना भाइरसका कारण झण्डै ६ महिना यता सुनसान बनेको मर्दी हिमाल पदयात्रा मार्गमा यतिखेर पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । पदयात्रा मार्गमा विदेशी पर्यटन नरहे पनि स्वदेशी आन्तरिक पर्यटकको आगमन हुने क्रम बढ्दै गएको मर्दी हिमाल हाइक्याम्पस्थित होटल स्नोल्याण्ड एण्ड स्पाका सञ्चालक राजु पौडेलले बताए । कोरोनाका कारण शिथिल बनेको पर्यटन क्षेत्रले आगामी दिनमा भने गति लिने विश्वास लिइएको उनले बताए । ‘विगतमा यस समयमा दैनिक १ सयभन्दा बढी विदेशी एवं स्वदेशी पर्यटक हुन्थे ।’ उनले भने, ‘अहिले भने विदेशी पर्यटक आउने अवस्था छैन, हामीले आन्तरिक पर्यटनलाई नै विशेष जोड दिएका छौं ।’
सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ भौतिक पूर्वाधारमा लगानी गर्न गरेको आग्रहलाई दृष्टिगत गरेर उत्साहित बनेका यहाँका पर्यटन व्यवसायीले लगानी बढाइरहँदा कोरोनाले नराम्रोसँग प्रभावित पारेको उनको भनाइ छ । पर्यटन क्षेत्र खुलेसँगै पोखरामा पर्यटकीय गतिविधि पनि विस्तारै चलायमान बनेको छ ।
साहसिक पर्यटनका विविध गतिविधि हुने यहाँका व्यवसायीले प्याराग्लाइडिङ, बञ्जि जम्प, जीपलाइन आदि सञ्चालनलाई पनि अघि बढाइसकेका छन् । पोखराको आकाशमा हावामा कावा खाँदै भरपुर मनोरञ्जन लिइने प्याराग्लाइडिङ पुनः सञ्चालनमा आएको छ । लामो समयको बन्दाबन्दीका कारण गत चैत १० गतेदेखि बन्द प्याराग्लाइडिङ ६ महिनापछि सञ्चालनमा आएको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिएका छन् । संस्थाले कम्पनी तथा पाइलट सेवा सञ्चालनका लागि तयारी अवस्थामा राखेको छ ।
अत्यावश्यकभन्दा पनि साहसिक मनोरञ्जनको माध्यम भएकाले प्याराग्लाइडिङ पूर्ववत अवस्थामा फर्किन स्वदेशी तथा विदेशी पर्यटक आउने वातावरण बन्नुपर्ने उनको भनाइ छ । प्याराग्लाइडिङ उडानमा आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने, तापक्रम लिने, मास्क तथा सेनिटाइजर प्रयोग गर्ने लगायतका आधारभूत स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न पाइलट तथा कम्पनीसँग छलफल गरिएको जनाइएको छ ।
पोखरा महानगरपालिका–१८ स्थित सराङकोटको डाँडाबाट उडान भरेर फेवाताल किनारमा अवतरण गरिने प्याराग्लाइडिङमा युवादेखि वयस्कसम्मको रुची रहने गरेको छ । पछिल्ला वर्षमा प्याराग्लाइडिङ मनोरञ्जनको साधनसँगै खेलकूद विधाको रुपमा स्थापित भएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङलाई समावेश गर्ने गरिएको छ । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा रहेका छन् भने ३ सय ५० हाराहारीमा नेपाली पाइलट छन् ।
पर्यटन क्षेत्र खुलेसँगै पोखराबाट पर्यटक बस सञ्चालन गरिरहेका व्यवसायीले पनि स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डका साथै आफ्नो सेवा सञ्चालनमा ल्याएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकलाई आवतजावत गराउने सुविधा सम्पन्न सवारी साधन थपिने क्रम पनि त्यही अनुरुप बढेको नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ गुरुङले बताए । उनका अनुसार पोखराबाट हरियो नम्बर प्लेटमा चल्ने पर्यटक यातायातका सवारीसाधन ३५ लाखका कारदेखि सुविधा सम्पन्न डेढ २ करोडसम्मका ल्यान्डक्रुजर, कोस्टर आदि छन् । भ्रमण वर्षलाई लक्षित गरी पछिल्लो समयमा मात्रै यहाँ झण्डै ५० करोड बराबरका पर्यटक सवारी साधन व्यवसायीले खरिद गरेको उनको भनाइ छ ।
नेपाल पर्यटन यातायात व्यवसायी संघसँग हाल विभिन्न क्षमताका ४ सय पर्यटक सवारी साधन आवद्ध छन् । बन्दाबन्दी सुरु भएयता थन्किएर बस्नुपर्दा दैनिक न्यूनतम २ लाख घाटा ब्यहोर्नुपरेको संघले जनाएको छ । व्यवसायीले पर्यटकलाई सुरक्षित महसुस गराउने गरी यातायात सञ्चालनको तयारी गरिरहेको पोखराबाट पर्यटक यातायात सेवा सञ्चालन गर्दै आएको यात्री बस प्रालिका अध्यक्ष सोमबहादुर थापाले बताएका छन् ।
पर्यटकलाई जुनसुकै गन्तव्यमा पुग्नका लागि पनि आफू सुरक्षित भएर यात्रा गर्दैछु भन्ने अनुभूति गराउने गरी पर्यटन बस सञ्चालनमा ल्याइएको उाले जानकारी गराए । पर्यटक सवारी साधनलाई विश्व स्वास्थ्य संगठन एवं नेपाल सरकारको सुरक्षा मापदण्डअनुसार स्यानेटाइजर गर्ने र सवारी चालक एवं सहयोगी कर्मचारीलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गराउन तालीम दिइएको उनले बताए ।
पोखरामा होटेल सञ्चालन गर्दै आएका व्यवसायीले पनि सुरक्षा मापदण्डका साथ होटेल सञ्चालनमा ल्याउन थालेको पश्चिमाञ्चल होटेल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिएका छन् । संघले सुरक्षा कार्यविधि, डिजिटल मार्केटिङ, होटेल सञ्चालन लगायतका विषयमा तालीम दिएको उनले बताए ।
पछिल्ला वर्षमा पोखराका होटलमा बढ्दो लगानीसँगै पर्यटक लक्षित सुविधा सम्पन्न होटल ६ सयको संख्यामा रहेका छन् । पोखराका पृथ्वीचोक, महेन्द्र पुललगायतका क्षेत्रमा थप अरु २ सयको संख्यामा छन् । उनका अनुसार नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै पर्यटन क्षेत्रमा लगानी गर्न गरेको आग्रहसमेतका कारण पोखराका होटलमा पूर्वाधार थप गर्न पछिल्लो समयमा मात्रै झण्डै १५ अर्ब थप लगानी गरिएको छ ।
पोखराका होटल बस्नका लागि पूर्णतः सुरक्षित छन् भन्ने अनुभूति हुनेगरी कर्मचारीलाई होटलको स्यानिटाइज गर्ने, आउने पर्यटकसँग गरिने व्यवहार, स्वास्थ्य सजगतालगायतका विषयमा तालिम दिइएको छ । सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डलाई होटलमा पूर्णतः कार्यान्वयनमा ल्याउँदै पोखरा भित्रने पर्यटकलाई यहाँ बस्न खान सुरक्षित छ भन्ने सन्देश राष्ट्रिय एवं अन्तरराष्ट्रियरुपमा दिने कुरामा आफूहरू प्रतिबद्ध भएको पर्यटन व्यवसायीले बताएका छन् ।
माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमश्रृंखलाको दृश्यावलोकनसँगै साहसिक पर्यटनमा रुची राख्ने पर्यटकको रोजाइमा पोखरा पर्ने गरेको छ । नयाँ वर्ष, चाडपर्व तथा लामो समयका बिदाका समयमा देशका विभिन्न भागबाट आन्तरिक पर्यटक २÷४ दिन पोखरा बिताउन आउनेक्रम पछिल्ला वर्षमा बढेको पाइन्छ । पोखरालाई मुख्य आधार बनाएर गरिने अन्नपूर्ण चक्रीय पदमार्ग, मर्दी हिमाल, पुनः हिल आदि स्थानमा पदयात्रामा जाने पर्यटकले आउँदा जाँदा यहाँ केही दिन बिताउने गर्छन् । रासस