पोखरा । १ साताको अवधिमा अधिकांश मूल्य बढेको तरकारीको असोज ५ गते मूल्य फेरी घटेको छ । कृषि बजार व्यवस्थापन समितिका अनुसार भिण्डी, बोडी, फर्सी, सिमी, लौका लगायत अधिकांश बढेको तरकारीको मूल्य फेरि केही रुपैयाँको दरले घटेको छ । असोज ५ गतेका मूल्य अनुसार केही तरकारीमा उही मूल्य छ भने केहीमा घटेको र बढेको हो ।
गत साताको अवधिमा भिण्डी र घिरौंला, प्याजको भाउ सबैभन्दा धेरैले बढेको थियो । प्रतिकेजी खुद्रा मूल्य ३५ रुपैयाँ रहेको भिण्डी अहिले औसतमा ७० पुगेको छ । त्यस्तै यही अवधिमा घिरौंला प्रतिकेजी ३५ रुपैयाँबाट ५० पुगेको छ । असोज १ गते प्याजको मूल्य अधिकतम १ सय प्रति केजीमा असोज ५ गते भने ५६ रुपैयाँ भएको छ । असोज १ गते अधिकतम ५० रुपैयाँ केजी रहेको फर्सी आजको दिनमा ३० रुपैयाँमा झरेको छ । त्यस्तै काउलीमा पनि २० रुपैयाँको दरले मुल्य घटेको छ ।
त्यस्तै आजको दिनमा भने बरेला, घिरौला, स्थानीय गोलभेडा, निलो आलु, स्थानीय काँक्रोमा मूल्य वृद्दि भएको छ । रायो साग पनि १० रुपैयाको दरले बढेको छ । त्यस्तै फलफूलमा पनि मूल्य बढेको छ । लकडाउन अवधिमा ढुवानी सेवामा समस्या हुँदा समेत नबढेको तरकारीको मूल्य भारतले प्याजमा रोक लगाएपछि ह्वात्तै बढेको हो । जसको असर बजारमा अन्य तरकारीमा देखिएको छ । यसबाहेक बजारमा ग्राहकले तरकारीको सही मूल्य थाहा नहुँदा बढी शूल्क तिरेर तरकारी किनिरहेका छन् ।
हिजो मात्र चिप्लेढुंगामा अजय केसीले गोलभेडालाई १ सय ५० रुपैयाँमा खरिद गरेका थिए । तर कृषि समितिले निकालेको मूल्यमा भने गोलभेडाको न्यूनतम मूल्य ९५, औसत १ सय २० र अधिकतम १ सय ७ थियो । बजारमा व्यापारीले मनपरि पैसा लिँदा पनि तरकारीको मूल्य चर्को सुनिएको छ ।
अजय केसीलाई जस्तै अन्य सबैलाई कृषि समितिले तोकेको मूल्यमा चासो नभएर पनि व्यापारीले मनोमानी गरेका हुन्छन् । तरकारीको मूल्य बढिरहँदा व्यापारीले पनि त्यसबाहेक बढी पैसा भनिदिँदा तरकारी किन्ने समस्या परेका हुन् । कृषि उपज बजार समितिका निमित्त कार्यालय प्रमुख महेन्द्रसिंह थापाले बजारमा तोकिएको मूल्यभन्दा बढी पैसा लिनेलाई अनुगमन गरेर कारवाही गरेको बताए । उनले हिजो मात्र बढी मूल्य लिने तरकारी बजारका २ स्टलले जरिवाना समेत तिरेको जानकारी दिए ।
थापाका अनुसार बजारमा बेलाबेला देखिने यस्ता समस्यालाई समाधान गर्न सरकारले नै केही निति ल्याउनुपर्ने हुन्छ ।
‘तरकारी मूल्य वृद्दिमा बिचौलयाको पनि समस्या देखिएको छ । किसान आफूले मनलाग्दी पैसामा बेच्नुहुन्छ, त्यसैले बजारमा समस्या आउँछ ।’ उनले भने, ‘मान्छे अनुसारको फरक मूल्यमा पर्दा बजारमा मूल्यको यति अन्तर आँउछ । सबै किसानले एउटै मूल्यमा बिक्री गर्ने भनेपनि केही हदसम्म समाधान हुन्थ्यो ।’
कृषि बजार व्यवस्थापन प्रणली कार्यालय गण्डकी प्रदेशले दैनिक आफ्नो वेबसाइटमा तरकारीको मूल्य तोकेर राखेको हुन्छ ।