रिना थापा
फेवाताल संरक्षणका लागि निर्माण गरिएको सिल्टेसन पोखरी र फेवा चेक ड्याम भत्किएपछि पनि पोखरा महानगरले यसप्रति गम्भीर चासो देखाएको छैन । ड्याम निमार्ण कार्य चलिरहँदा नै स्थानीयवासीे कमसल सामाग्री प्रयोग गरेको भन्दै विरोध गरेका थिए । अन्नत डेढ महिना अगाडि ड्यामको केही भाग भत्किएर स्थानीयको शंकालाई यथार्थमा परिणत गरेको थियो । त्यसपछि पोखरा महानगरपालिकाले ड्याम भत्किनुको कारण पत्ता लगाउन महानगरबाट प्राविधिक टोली खटाएको जानकारी गराएको थियो । महानगरले प्राविधिक टोलीले अवलोकन गरेको दावी गरिरहँदा यही भदौ १४ गते राति आएको अविरल वर्षाले ड्याम भत्कियो ।
जसकारण पानीको बहावले बाटो परिवर्तन गरेर चक्लाबन्दी गरेको खेतीसहितको क्षेत्रमा पानी पस्यो । करिब १ सय ५६ रोपनी क्षेत्रफलमा रहेको धान खेत बगाएर क्षतिग्रस्त भएको थियो । बाढीले सोही स्थानमा रहेको कुखुरा फर्मलाई पनि क्षतिग्रस्त बनाएको थियो । बाढीले क्षति पु¥याएको यकिन डाटा नभएपनि करोडौंको नोक्सान गरेको अनुमान गरिएको छ ।
त्यसै दिन पोखरा महानगर बाट मेयर मानबहादुर जिसी र उपमेयर मन्जुदेवी गुरुङ स्थलगत अवलोकन गर्न पुगेका थिए । तर त्यो अवलोकन फलदायी हुने सकेको छैन । उसो त मेयर, उपमेयरको टोली बेलाबेला अवलोकन गर्न पुगे पनि ड्याममा निर्माणका बेला भएको कमजोरीको गुनासो आफू प्रतिपक्षि भएकै कारण नसुनेको आरोप वडा २३ का अध्यक्ष विष्णुप्रसाद पराजुलीले लगाउँदै आएका छन् ।
पोखरा महानगर र प्रदेश सरकारले संयुक्त रुपमा खटाएको प्राविधिक टोलीमार्फत् चाँडै नै रिपोर्ट आउने पोखरा महानगरका प्रवक्ता धन बहादुर नेपालीले बताए । ‘यस विषयमा हामी अनुगमन गर्दै छौं, प्राविधिकको टोलीले रिपोर्ट दिएपछि छिटो नै मर्मतको काम सुरु हुन्छ ।’ उनले भने ।
तर महानगरले महिना दिन अगावै प्राविधिक टोलीलाई अनुगमनमा पठाए पनि अहिलेसम्म यथार्थता सार्वजनिक गर्न सकेको छैन । सिल्टेसन ड्यामका साइट इन्जिनियर बिमल आचार्यले प्राविधिक टोलीमार्फत के सल्लाह र सुझाव आउँछ त्यही अनुरुप काम अगाडि बढ्ने बताए ।
आचार्यले मर्मतका लागि ठेकेदारलाई पत्राचार गरेको र ठेकेदार मर्मत गर्न तयार रहेको जानकारी दिए । ‘भरिएको ग्राभेलले गर्दा समस्या आएको हो, अहिले त्यही ग्राभेल निकालेर तत्कालका लागि खोलालाई ड्यामबाटै ओभरफ्लो गराउन लाग्दै छौं ।’ उनले भने, ‘अब यो मर्मतको विषयमा त महानगरले प्राविधिक खटाएको छ, उहाँहरुबाट के सल्लाह आउँछ त्यही अनुरुप हामीले काम गर्छौं । तत्कालका लागि चक्लाबन्दीमा असर नपुगोस् भन्ने सोचले केही काम भएको छ ।’
यता निर्माण कम्पनीका प्रकाश विक केही दिन ड्याम मर्मत कार्य गर्न नमिल्ने बताउँछन् । ‘वर्षायामको झरीले खोलामा पानी बढी छ । त्यसैले १०/१५ दिन केही गर्न मिल्दैन ।’ उनले भने । पानीको सतह घटेपछि मर्मत कार्य गर्ने उनले जानकारी दिए । ड्याम निमार्ण गर्दा कमसल साम्रगी प्रयोग नगरेको उनको दावी छ ।
ड्याम भत्किनुको कारण कमसल साम्रागी नभई ड्याममा जम्मा भएको ग्रेगर र माटो रहेको महानगरले दावी गर्दै आएको छ । निर्माण सम्पन्न भए पनि महानगरलाई सम्बन्धित ठेकेदार कम्पनीले हस्ताण्तरण गर्नु अगावै महानगरले ड्यामबाट ग्रेगर र माटो निकाल्न पाउँदैन । त्यसका लागि पनि प्रक्रिया पु¥याउनु पर्ने हुन्छ । तर त्यही ग्रेगर र ग्राभेलको भार ड्यामले थेग्न नसक्दा थप क्षतिको भयले ग्रेगर निकाल्ने काम भने भइरहेको छ ।