तनहुँमा छुट्टाछुट्टै मुद्दाका ३ जना फरार व्यक्ति पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले छुट्टाछुट्टै ३ वटा मुद्दाका फरार व्यक्तिलाई सोमबार पक्राउ गरेको छ । गौबध, सवारी ज्यान र सार्वजनिक मुद्दाका फरार ३ जनालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो ।

गौबध मुद्दामा फरार रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ दुलेगौंडा निवासी ३१ वर्षीय भरत थापा भन्ने विशाल पुन उपर जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको थियो । विसं २०७१ चैत १८ गते अदालतले उक्त फैसला गरेपछि उनी फरार रहँदै आएका थिए । पक्राउ परेका उनलाई जिल्ला अदालत समक्ष पेश गरेकामा बाँकी रहेको कैद भुक्तानका लागि सोमबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिएका छन् ।

त्यसै गरी भिमाद नगरपालिका–१ डुम्रेबेसी बस्ने २२ वर्षीय बालकृष्ण भुजेल भन्ने बलबहादुर घर्तीलाई सवारी ज्यान मुद्दामा फरार रहेकाले ३ वर्षपछि पक्राउ गरेको छ । विसं २०७४ साउन ३१ गतेको जिल्ला अदालतको फैसलाले निजलाई २ वर्ष कैद हुने गरी सजाय ठहर गरेकामा उक्त फैसलाउपर १ वर्ष ११ महिना ५ दिन कैद भुक्तान नगरी फरार रहेकाले उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले जानकारी दिए ।

त्यसैगरी केही सार्वजनिक अपराध मुद्दाका फरार रहेका व्यासनगरपालिका–१३ पोखरीभञ्ज्याङ निवासी २४ वर्षीय सुनिल बाचेलाई ५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । विसं २०७२ चैत १६ गतेको जिल्ला अदालतको फैसलाले ५ हजार जरिवाना ठहर गरेकामा उक्त जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेकाले खोजतलास गर्दै जाँदा भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौंदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिहरुको खोजीकार्यलाई तीव्रता दिँदै आएको प्रहरीले जनाएको छ । रासस

कमेन्टहरु
Loading...