पोखरामा कोरोना समुदायस्तरमा फैलिसक्यो : मेयर जिसी

पोखरा । नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिका तथा वडा तहमा समेत आर्थिक अनियमितता भएको बताउँदै महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउँदै कास्की कांग्रेसका सभापति कृष्णबहादुर केसीले रकम ठूलो सानोभन्दा पनि आर्थिक अनियमितता भएपछि पोखरेलीको जनप्रतिनिधिहरुबाट विश्वास टुटेको बताए । आर्थिक अनियमितता गर्नेलाई कडाभन्दा कडा कारवाही गरेर पोखराका विभिन्न क्षेत्रका विकास निर्माण ध्यान दिन उनले आग्रह गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै पोखरा महानगरपालिकाका मेयर जिसीले हाम्रो र तिम्रो नहेरी दाषीलाई कडा कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । घटना गम्भीर भएको भन्दै उनले कारवाही गर्ने बताएका हुन् । ‘यो गम्भीर प्रकृतिको घटना हो, कमजोरीलाई कारवाही बिना छोड्नु हुन्न ।’ उनले भने ।

फरक प्रसंगमा मेयर जिसीले पोखरा महानगरपालिकामा समेत कोरोना भाइरस समुदायमा फैलिसकेको बताउँदै स्थानीयहरु पनि सचेत हुनुपर्नेमा जोड दिएका छन् । पोखराका विभिन्न व्यक्तिलाई ट्राभल हिस्ट्री बिना कोरोना संक्रमण देखिएको भन्दै जिसीले सामाजिक दुरी कायम गर्न, सकभर घरबाट बाहिर ननिस्कन, मास्क तथा सेनिटाइरको नियमित प्रयोग गर्न तथा नियमित रुपमा साबुन पानीले हात धुने लगायतका उपाय अपनाउन आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...