पोखरा, २५ कार्तिक / कास्कीको आँटीघर मौजामा पोखरा महानगरपालिकाले अल्टिच्युड फुटबल मैदान निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेको छ ।
महानगरपालिका वडा नं २० मौजास्थित १७ सय मिटर उचाईमा फुटबल मैदानसहित खेलकुदका अन्य पुर्वाधार तयार पार्न डिपिआर तयार गरिएको हो । ५ वर्षभित्रमा पुरा गर्ने दीर्घकालिन योजनासहित खेलकुद पुर्वाधार बनाउने लक्ष्य राखिएको छ । योजनाको लागि १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
महानगरपालिकाले यो आर्थिक वर्षमा मौजाको अल्टिच्युड फुटबल मैदानको लागि ५० लाख रुपैयाँ छुट्टाएको छ । ‘महानगरपालिकाले नै डिपिआर तयार गरेको होे’ –पोखरा महानगरपालिकाका ईन्जिनियर राजु रेग्मीले भने–‘फुटबल मैदानसहित अन्य खेलकुदका पुर्वाधारलाई डिपिआरमा समेटिएको छ ।’ उनका अनुसार योजना पुरा हुदाँ १६ करोड रुपैयाँ खर्च हुने छ ।
मौजा महानगरपालिकाको दुर्गम वडाको रुपमा चिनिन्छ । सडक सञ्जालले छोएपनि प्रभावकारी भने छैन् । बजार क्षेत्रदेखि केही टाढा रहेको मौजामा फुटबल मैदान बनाउन गत वर्ष नै साढे ८ लाख रुपैयाँ खर्च गरिएको थियो । रकम भिरालो जमिन कटान गरी सम्याउन खर्च गरिएको थियो ।
यद्यपी डिपिआर तयार नहुदाँ कामलाई थाँती राखियो । ‘फुटबल मैदानसहित प्यारापिट निर्माण हुन्छ ’ उनले भने–‘त्यसबाहेक बास्केटबल र भलिबल कोर्ट समेत बनाईने छ ।’ भिरालो जमिनकै कारण ल्याण्डस्केप गरी निर्माण गरिने ईन्जिनियर रेग्मीले बताए ।
विस्तृत परियोजना प्रतिवेदन अनुसार पुर्वाधारले झण्डै ५६ रोपनी क्षेत्रफल ओगट्ने देखिन्छ । पार्किङको समेत व्यवस्था हुने छ । कास्कीकै अग्लो स्थानको फुटबल मैदान पोखरा महानगरपालिका वडा नं २० मौजाका वडाध्यक्ष सीम गुरुङले बताए । उनका अनुसार दशकअघि मेला र महोत्सव गर्ने स्थललाई अन्तराष्ट्रिय मापदण्डको फुटबल मैदान बनाउन महानगरपालिका सँगै स्थानीयबासी कस्सिएका हुन् । आँटीघर मौजाको थाप्लोमा रहेको सार्वजनिक जग्गामा निर्माण शुरु गरिएको छ । मैदान भन्दा उत्तर तर्फ भने मानवबस्ती छैन् । घनाजंगल छ ।
उनका अनुसार गत आर्थिकवर्ष महानगरपालिकाले ७ लाख ५० हजार र वडाले १ लाख गरी ८ लाख ५० हजार रुपैयाँ बजेट बाट जमिन सम्याउने काम गरिएको थियो । वडाध्यक्ष गुरुङ भन्छन–‘मैदान निर्माणपछि स्पोर्टस टुरिज्म प्रोमोसनमा हुने आशा र विश्वास छ । त्यसैले दीर्घकालिन योजनालाई पुरा गर्ने तर्फ सबै जुट्नुपर्छ ।’ मैदानसँगै अतिथिहरुको लागि होम स्टे गर्न सकिने उनको भनाई थियो ।
फुटबल मैदान निर्माण भएपछि होमस्टेलाई प्रभावकारी बनाउन सकिए आँटीघर मौजा खेल मैदानमा राष्ट्रियस्तरकै प्रतियोगिता सञ्चालन गर्न सकिने उनको विश्वास थियो । मैदान फुटबलको मापदण्ड अनुसारकै निर्माण हुने छ । डाडाँ खारे ११० मिटर लम्बाई ६५ मिटर चौडाईको फुटबल मैदान सम्भावनालाई डिपिआर तयार हुनु अघि नै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियरले औल्याईसकेका थिए । सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक खेल मैदान बनाउने निर्णय गरेको छ । त्यसै अनुरुप पनि गाँउ गाउँमा खेलकुदको पुर्वाधार धमाधम बन्दै गएका छन् ।
महानगरपालिकाभित्र ५ वटा फुटबल मैदान छन् । एउटा अन्नपुर्ण गाँउपालिकाको ढिकुरपोखरी वडा नं २ मा छ । ढिकुरपोखरीको खेल मैदानमालाई गतवर्षमात्रै स्तरोन्नति गरिएको थियो । पोखरा रंगशालाभित्र दुईवटा मैदान छन् । सरकारकै १ अर्ब २८ करोडको लागतमा २० हजार दर्शक क्षमताको प्यारापिटसहितको मैदान निर्माणाधिन छ ।
रंगशालाभित्रै फुटबल मैदानको पश्चिम तर्फ पनि सरकारकै बजेटमा प्रशिक्षण मैदान तयार गर्नेकाम अघि बढेको छ । भण्डारढीकमा फुटबल मैदान निर्माण भईसकेको छ । लामाचौरमा राष्ट्रिय खेलकुद परिषद तथा स्थानीयको सक्रियतामा र आर्थिक सहयोगमा गोस्ते खेल मैदान(फुटबल मैदान) बनाईएको छ ।
हेमजाको गौरीशंकर खेल मैदान पनि फुटबल प्रतियोगिताको लागि तयार गरिएको छ । गोस्ते र गौरीशंकर खेल मैदानलाई गत आर्थिक वर्षमा ५०/५० लाख रुपैयाँ राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराई काम गरिएको हो । यो आर्थिक वर्षमा पनि १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) महिला फुटलब प्रशिक्षणस्थल नाउने भन्दै परिषदले बजेट उपलब्ध गराएको छ ।