पोखरा, १३ भदौ/ अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको एपीवान टेलिभिजनले सञ्चालन गरेको नेपाल आइडलको सिजन थ्रीको अडिसन भदौ अन्तिम साताबाट शुरु हुने भएको छ । भदौं ३१ गते देखी पोखराबाट अडिसन शुरु हुन लागेको हो ।
पोखराको सिमलचौरमा रहेको जनप्रिय मावि परिसरमा पहिलो चरणको अडिसन भदौ ३१ गते हुने एपिवान टेलिभिजनका तथा नेपाल आइडलका प्रोजेक्ट हेड तथा निदेशक सुरेश पौडेलले जानकारी दिए । पोखरा पछि असोज ३ गते बुटवल, असोज ६ गते नेपालगञ्ज, असोज १० गते विरगञ्ज र असोज १४ गते विर्तामोडमा अडिसन हुनेछ ।
पोखरामा हुने अडिसन जनप्रिय माविमा बिहान ८ बजेदेखि बेलुकी ४ बजे सम्म हुने उनले बताए । प्रतियोगितामा भाग लिन चाहनेले फर्म भरेर ल्याउनु पर्ने छ वा त्यही पाइने फर्म भरेर बुझाउनुन पर्ने उनले बताए । फर्म र प्रतियोगितमा भाग लिनका लागि कुनै शुल्क लाग्ने छैन । पोखरामा हुने अडिसनमा तनहँ, स्याङ्जा, लमजुङ, गोरखा बागलुङ, म्याग्दी र पर्वतका विभिन्न ठाउँबाट समेत अडिसनमा भागलिन आउने उनले बताए ।
उनले अघिल्लो नेपाल आइडलमा भएका कमिकम्जोरीलाई हटाएर अझ उत्कृष्ट कार्यक्रम बनाएको उल्लखे गरे । प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले दुई वर्ष देखि नेपाल आइडल गायन प्रतियोगिता सुरु गरेको हो ।
नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउँछन् । सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यावसायिक गायक र गायिकाले समेत यसमा भाग लिन सक्छन् । पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा, दोस्रो नेपाल आइडल रबि ओड भएका थिए ।