पोखरा, ६ जेठ/आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता टुंगिएकै रात पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले नवौंं सस्करणको खेलकुद मेला आयोजना गर्ने झण्डा बोक्यो ।
झण्डा बोेकेको डेढ हप्तादिनपछि नै भौतिक पुर्वाधार निर्माणको चिन्ता थपिएको छ । नवौंको लागि पुर्वाधार निर्माणको चुनौति थपिएको छ । नवौं सस्करण गर्ने जिम्मा लिएको पोखराले पौडी पोखरी निर्माण गर्ने तर्फ चासो दिन शुरु गरेको छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले पुर्वाधार विभिन्न शीर्षकमा बजेटको लागि प्रस्ताव समेत गरेको छ । जग्गा पोखरा रंगशाला परिसरभित्रै छुट्टाइएको छ । पौडी पोखरी निर्माण नभएको अवस्थामा निजी क्षेत्रका स्वीमिङ पुलमै पौडी प्रतियोगिता टुग्याउनुपर्ने बाध्यता छ । जुन नेपालगन्जमा देखिएको थियो ।
राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालाभित्रको ४१५ रोपनी जग्गामा विभिन्न खेलकुदका भौतिक पुर्वाधार निर्माण गरेको छ । गुरुयोजना अनुसार जग्गा छुट्टाइएको छ । छुट्टाइएको जग्गामा पौडी पोखरी निर्माण गर्न पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले परिषदसँग ४० करोडको बजेटको प्रस्ताव गरेको छ ।
‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी अन्तराष्ट्रिय मापदण्ड अनुसारको स्वीमिङ पुल( पौडी पोखरी) निर्माण गर्ने छौं’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले भने–‘इन्जिनियरसँग सल्लाह गरे अनुसार बजेट प्रस्ताव गरेका छौं । माग भएको बजेट आपूर्ति भए ठेण्डर प्रक्रियामा लैजान्छौं ।’
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडीको महिला तथा पुरुष दुवै इभेण्ट पोखरामै आयोजना गर्ने प्रारम्भिक निर्णय भईसकेको छ । निर्णय अनुसार पोखरा रंगशालाभित्रै पौडी पोखरी निर्माण गर्नुपर्नेमा समेत जोड दिइएको छ । रंगशालाभित्रै पौडी पोखरी निर्माण गर्न तीन नम्बर गेट नजिकैको जग्गा छुट्टाइएको छ ।
अन्तराष्ट्रिय मापदण्ड अनुसार पौडी पोखरी २५मिटर चौडाई र ५० मिटर लम्बाईको हुने छ । यद्यपी २५ मिटर लम्बाई र २५ मिटरकै चौडाई समेत अन्तराष्ट्रिय मान्यता प्राप्त हुने इन्जिनियर प्रनिस ताम्राकारले बताए । उनका अनुसार २५ मिटर लम्बाई र २५ मिटर चौडाईको पौडी पोखरी बनाईए हिटिङको व्यवस्थासहितको हुने छ । हिटिङ भए पुल कभर्ड गर्नुपर्छ । ठुलो साईजको तर सामान्य खालको भए खुल्ला नै हुने उनको भनाई थियो ।
पोखरामा आयोजना हुने विद्यालयस्तरीयदेखि खुल्ला पौडी प्रतियोगिता भने निजी क्षेत्रका पौडी पोखरीमा आयोजना गरिदैं आएको छ । खेलकुद परिसर भित्रै निर्माण गरिए खेलाडीले नियमित रुपमा पौडीको प्रशिक्षण पाउने कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेल बताउँछन् ।
‘रंगशालाभित्रै छुट्टाइएको जग्गामा पौडी पोखरी बनाउन सकिए लागत केही कम हुन्छ ’ उनले भने–‘अन्यत्र जग्गा खोजेर बनाउँदा खर्चिलो हुन्छ ।’ सामान्यत पौडी पोखरी निर्माण मात्रै बनाउन दुई करोड रुपैयाँ खर्च हुने उनको भनाई थियो ।
‘पौडी पोखरीमा प्रयोग गरिने मार्वल कस्तो हाल्ने त्यसमा भर पर्छ । सस्तैमा पनि बन्छ । मार्वल मात्रै दुई÷तीन करोड पनि पर्न सक्छ,’ उनले भने–‘सामान्य पौडी पोखरी हो कि हिटिङ राख्ने त्यसले पनि लागतमा फरक पार्छ ।’ २५ मिटरको चौडाईको बनाई आवश्यकता अनुसार लेन बनाउन सकिने उनको भनाई थियो ।
लेन खेलाडीको सहभागिता अनुसार बनाउन सकिन्छ । पोखरी न्यूनतम ६ फिट गहिराईको बनाउन जरुरी छ । हिटिङको व्यवस्था भएको अवस्थामा बाह्रैमा प्रशिक्षण खेल्न र खेलाउन सकिन्छ । सामान्य पुलमा भने जाडोमा प्रशिक्षण गराउन सकिदैन् ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पौडी पोखरी निर्माणको लागि निजी कम्पनीलाई आह्वान समेत गरेको थियो । पीपीपी मोडल(पब्लिक, प्राईभेट, पार्टनरसिप)मा पौडी पोखरी बनाउन पोखराकै व्यवसायिक घराना बतास अर्गनाईजेशनसँग छलफल समेत गरिएको थियो । विधि र प्रक्रिया नपुर्याई गरिएको छलफल टुंगोमा नपुग्दै तुहिएको थियो ।
तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले निजी क्षेत्रलाई स्वीमिङ पुल बनाउन दिनेगरी छलफल गरेका थिए । झण्डै डेढ वर्ष अघि नै निजी क्षेत्रलाई स्वीमिङ पुल बनाउन गरिएको आग्रह अनुसार विभिन्न शहरका कम्पनीले चासो समेत दिएका थिए । आह्वान अनुसार बतास अर्गनाईजेशन, बाराही ग्रुप, स्नोल्याण्ड ग्रुप, केसी कन्स्ट्रक्सनले स्वीमिङ पुल बनाउने चासो दिएका थिए । यद्यपी यो चासो भने त्यत्तिकै सेलाएर गयो ।