फिल्म समर लभको टोली पोखरामा

आख्यानमाथि बनेको उत्कृष्ट फिल्म ः निर्देशक

पोखरा, १० माघ /नेपाली फिल्म समर लभ यतिबेला प्रचारको क्रममा छ । माघ २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म समर लभको टोली प्रचारकै क्रममा बुधबार पोखरा आईपुग्यो । यो टोलीले पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्म उत्कृष्ट बनेको भन्दै हलमा पुगेर हेरिदिन दर्शकसमक्ष आह्वान गर्यो ।आख्यानकार सुबिन भट्टराईको चर्चित उपन्यास समर लभकै कथामा बनेको यो फिल्मलाई आफूले सकेसम्म न्याय दिने प्रयास गरेको यसका निर्देशकले बताए । यो फिल्मलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । यसअघि उनले नाई नभन्नु ल को सिरिज अन्तरगत एउटा फिल्म निर्देशन गरिसकेका छन् ।

‘मलाई थाहा छ नेपालमा आख्यानमाथि बनेको फिल्म राम्रो चलेका छैनन् । अझै भनौँ पुस्तकलाई न्याय गर्ने गरि पनि बनेका छैनन् ।’ पत्रकार सम्मेलनमा निर्देशक ढकालले भने–‘तर यो फिल्मलाई त्यस्तो आरोप नलागोस् भनेर म सचेत छु ।’ उपन्यासको कुनै पात्र अथवा परिवेशलाई फिल्ममा तोडमोड नगरिएको पनि उनले प्रस्ट पारे ।फिल्म करिब साढे २ करोड रुपैयाँ लगानीमा निर्माण भएको यसको निर्माण यूनिटले जनाएको छ । नेपालसँगै सिंगापुर, नर्वे लगाएतका मुलुकमा पनि यो फिल्मको छायाँकन भएको छ । फिल्ममा अतित शर्माको भुमिकामा अभिनेता आशिष पिया देखिएका छन् भने सायाको भुमिकामा रेवती क्षेत्री देखिएकी छन् ।

बुधबार पोखरामा भएको पत्रकार सम्मेलनमा अतितको भुमिकालाई आफुले सक्दो न्याय गर्ने प्रयत्न गरेको आशिषले बताए । ‘सबै पाठकको दिमागमा बसिसकेको अतितको चरित्रलाई न्याय गर्ने कुरा निकै गाह«ो कुरा हो । यद्यपी मेरो प्रयासले यहाँहरुलाई निराश बनाउनेछैन ।’ आशिषले भने । त्यस्तै अभिनेत्री रेवती क्षेत्रीले सायाको रुपमा आफूलाई दर्शकहरुले रुचाउने बताईन् ।फिल्मलाई खगेन्द्र श्रेष्ठ,ईन्दु भण्डारी, स्वप्न सरकार, मनोज बिक, एकराज तामाङले मिलेर बनाएका हुन् । यो फिल्मको कार्यकारी निर्मातामा बिनोद अधिकारी रहेका छन् । फिल्ममा पुष्पन प्रधानले संगीत दिएका हुन् भने सञ्जय लामा र मानकृष्ण महर्जनले मिलेर यो फिल्म खिचेका हुन् ।

कमेन्टहरु
Loading...