गुणस्तरीय शिक्षा अपरिहार्य– उपसभामुख शर्मा

पोखरा, २ माघ/गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गुणस्तरीय शिक्षा वर्तमानको अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ ।
पोखरा महानगरपालिका वडा नं ३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव तथा ६० औं अभिभावक दिवस समारोहको आज उद्घाटन गर्दै उहाँले समय सापेक्ष रुपमा प्रविधिमा आधारित व्यवसायिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

पछिल्ला समयमा सामूदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको बताउँदै उहाँले संख्या प्रति भन्दा पनि गुणस्तरीय शिक्षाका लागि चिन्ता हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रत्येक सामूदायिक विद्यालयले गुणस्तरीय शिक्षाका लागि सोचमा परिवर्तन ल्याउनु आवश्यक भएकोमा उपसभामुख शर्माको जोड छ ।

पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले समयको गति सँगै प्रविधिमैत्री शिक्षा आवश्यक भएको बताउँदै त्यसका लागि प्रत्येक शिक्षकले आँफुलाई रुपान्तरित गर्नुपर्नेमा जोड दिनुभयो । एक आपसमा दोषारोपण भन्दा पनि विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन तर्फ सबैको सामूहिक प्रयास हुनुपर्ने उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद आचार्यले स्थापनाको ५९ औं वार्षिकोत्सवसम्म आइपुग्दा विद्यालयले विभिन्न आरोह अवरोह पार गरेको बताउँदै विद्यालयको समग्र उन्ननयनमा पूर्व विद्यार्थी, अभिभावक सबैको सामूहिक प्रयास आवश्यक हुने बताउनुभयो ।
प्रधानाध्यापक टेकनारायण गिरीले विद्यालयको समग्र अवस्था बारे प्रकाश पार्नुभयो ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्य, महानगर शिक्षा परिषद्का सदस्य धनराज आचार्य, विद्यालयका पूर्व प्र.अ.कमलप्रसाद आचार्य, सरस्वती टिका मा.वि.का अध्यक्ष ऋषिराज आचार्य, लोकनाथ खनाल, वासुदेव पौडेल, मोती भुजेल, हेमराज आचार्य, केदारनाथ आचार्य, वेदनाथ आचार्य लगायतले विद्यालयले कास्की दक्षिणभेगको शैक्षिक विकासमा खेलेको भूमिका बारे चर्चा गर्नुभएको थियो । उक्त अवसरमा विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीका साथै शिक्षकलाई सम्मान गरिएको थियो ।

पूर्व विद्यार्थी मञ्च गठन

वार्षिकोत्सवकै अवसरमा शान्ति उदय माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको भेलाले भूतपूर्व विद्यार्थी मञ्च गठन गरिएको छ ।
मोती भूजेलको अध्यक्षतामा गठित १३ सदस्यीय मञ्चको उपाध्यक्षमा विष्णुहरि पौडेल, सचिवमा बैकुण्ठनाथ आचार्य, सह सचिवमा शकुन्तला आचार्य, कोषाध्यक्षमा वासुदेव पौडेल रहनुभएको छ ।

सदस्यहरूमा वसन्तराज लम्साल, सजना आचार्य, श्रीबहादुर गुरुङ, ऋषिराज आचार्य, गंगादत्त पौडेल, टंकराज आचार्य, हरिश्चन्द्र पौडेल, सविन आचार्य हुनुहुन्छ ।विद्यालयका पूर्व विद्यार्थी एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी विशेष सल्लाहकार रहनुभएको नौ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।

सल्लाहकारहरूमा धनराज आचार्य, मनोहर आचार्य, कमलप्रसाद आचार्य, सदनकुमार महत, गुरुप्रसाद आचार्य, केशरप्रसाद निर्दोषी, हेमप्रसाद आचार्य, कृष्णप्रसाद आचार्य र रश्मी आचार्य हुनुहुन्छ ।

कमेन्टहरु
Loading...