पोखरामा स्पोर्टस टुरिज्मको जग बसाल्दै ‘ट्रेल रेस सिरिज’

पोखरा / गाँउका गोरेटा बाटामा केही चहलपहल छ । हराउँदै गएका गोरेटो बाटो पहिल्याउने काम समेत भईरहेको छ । सुनसान जस्तै रहेका ती बाटामा नेपाली मात्रै नभई विदेशी पनि देखिन्छन् । पहिल्याईएका बाटामा विदेशी हिड्ने होईन दौडिन थालेका छन् । गाउँको गोरेटोमा विदेशी धावकलाई दौडाउने ध्येय पोखरा ट्रेल रेस रनिङ क्लबले लिईरहेको छ ।

बाह्य पर्यटक हिड्ने गोरेटो(ट्रेल) अहिले लोप हुने अवस्थामा छन् । जतासुकै मोटरबाटो पुगेको छ । मोटरबाटोले त्यस्ता गोरेटो बाटोको औचित्य सिद्धिएको छ । गुमनाम त्यस्ता गोरेटो बाटोलाई फेरी ब्युताउने काम भने त्यही रनिङ क्लबले शुरु गरेको छ । जहाँ विगतमा पर्यटकहरुले पदयात्राको रुपमा प्रयोग गर्ने बाटोलाई अहिले विश्वमाझ चिनाउन रनिङ क्लबले टे«ल रेस गर्दै उजागार गरिरहेको छ ।

कास्कीको गोरेटो बाटोमा

विदेशीसँगै नेपाली दौडिन थालेको लामो समय भने भएको छैन् । यसै वर्षदेखि हो । क्लबले पोखरा ट्रेल रेस सिरिजको नाममा स्वदेशी र विदेशी खेलाडीलाई फरक फरक ग्रामीण रुटमा दौडाउँदै आएको छ । उद्देश्य दुई वटा छ । नेपाली धावकलाई अन्तर्राष्ट्रिय टे«ल रेसमा सहभागिता गराउने । अर्को हराउँदै गएका गोरेटो(पदयात्रा मार्ग)को पहिचानसँगै संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने हो ।

क्लबले सन २०१८ को अन्त्यतिर आउँदै गर्दा चार सस्करणको रेस पुरा गर्ने संघारमा छ । अन्तिम दौडको प्रतिस्पर्धामा २४ तारिखमा गर्दै छ । जुन विगतमा भएका तीन संस्करण भन्दा दोब्बर दुरीको छ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको पन्चासे क्षेत्रमा दौडाईने छ । जसको दुरी ५५ किलोमिटर छ । उचाई २५ सय मिटर भन्दा बढी हुन्छ ।

ट्रेल रेस सिरिज
ट्रेल रेस सिरिज
च्याम्पियन नेपाली धावकले

युरोपमा हुने अन्तर्राष्ट्रिय ट्रेलमा सहभागिता जनाउने अवसर पाउने छ । केवल एउटा सर्तमा । धावकले अन्तर्राष्ट्रिय ट्रेलमा आफुले दौडमा पाएको अकं अनुसार सोहीस्तरको रेसमा उपस्थिति जनाउन सक्ने छ । ‘ट्रेल रेस विश्वमा साहसिक दौडको रुपमा छ । हामीले पनि पदयात्रा मार्गको पहिचान गरी स्पोर्टस टुरिज्म प्रवद्र्धन गर्ने उद्देश्य अनुसार अभियान शुरु गरेका हौं ।’

एक वर्षे अनुभव सुनाउँदै क्लबका अध्यक्ष विकास गुरुङ भन्छन्–‘हाम्रो प्रत्येक रिपोर्ट आईटिआरए(अन्तर्राष्ट्रिय ट्रेल रेस एशोसियसन) मा पठाउँछौं । जसलाई अन्तर्राष्ट्रियकरण गर्दै प्रवद्र्धनमा टेवा पुगेको छ ।’ उनको भनाईलाई आधार मान्ने हो भने सन २०१९ मा पोखरामा अन्नपूर्ण अन्तर्राष्ट्रिय गोल्डेन टे«ल सिरिज हुने छ । जहाँ विश्वकै उत्कृष्ठ दश भित्र रहेका धावकहरुले मात्रै सहभागिता जनाउने छन् ।

विभिन्न देशमा आयोजना गरिने ट्रेल रेसको ग्राण्ड फिनालेको रुपमा गोल्डेन अन्नपूर्ण ट्रेल रेस हुने उनको भनाई थियो । उनी थप्छन्–‘मर्दी हिमालको बेसक्याम्पदेखि धम्पुससम्म ओर्लिने छन् ।’ नेपालको झण्डै एक दर्जन ठाँउहरुमा पोखरामा जस्तै ट्रेल रेस हुदैं आएको छ । पोखरामा हुदैंआएको ट्रेल रेसप्रति विभिन्न देशका धावकहरुले चासो दिदैं आएका छन् ।

ट्रेल रेस सिरिज
ट्रेल रेस सिरिज
क्लबले सन २०१९ को

अन्त्यमा दुईसय विदेशी धावकलाई पोखरा ट्रेल रेसमा सहभागिता जनाउने आउने गरी गृहकार्य गरिरहेको छ । क्लबले ट्रेल रेस सिरिजको पहिलो सस्करण काँहुडाडाँ(१३ किलोमिटर)मा आयोजना गरेको थियो । दोस्रो संस्करण ड्यामसाईड देखि विश्वशान्तिस्तुपा(२० किलोमिटर), तेस्रो सस्करण मेथ्लाङदेखि सराङकोट (२५ किलोमिटर) सम्पन्न गरिसकेको छ । मंसिर ८ मा चौथो संस्करणको ड्यामसाईड–शान्तिस्तुपा–पन्चासे–सराङकोट हुदैं फेवातालको किनार (५५ किलोमिटरको दुरी)मा आएर टुगिने रुट तय गरिएको छ ।

टे«ल रेसलाई अनुगमन, निरीक्षण र अंक दिने काम भने आईटिआरएले गर्छ । ‘ट्रेल रेसको महत्वपूर्ण पाटो नै धावकले पाउने अंक हो ।’ क्लबका अध्यक्ष गुरुङ भन्छन–‘धावकले पाएको अंकले उसको र्याङ हुन्छ । बढी अंक ल्याउनेले त्यहीस्तरको अन्तर्राष्ट्रिय सहभागिता जनाउन पाउँछ ।’ अन्तर्राष्ट्रिय ट्रेल रेसमा सहभागिताको लागि १०० किलोमिटर दौडिन १५ अंक प्राप्त गर्नुपर्छ । जुन तीनवटा रेसबाट प्राप्त गर्नुपर्ने प्रावधान छ । ५० किलोमिटर दौडमा उभ्भिन धावकले ८ अंक पाउनुपर्छ । ४२ किलोमिटरमा प्रतिस्पर्धा गर्न ६ अंक पाउनुपर्छ । पोखरा ट्रेल रेस सिरिजको चौथो सस्करणमा धावकले ६ अंक प्राप्त गर्ने छन् । दुरी र उचाईको आधारमा आईटिआरएले अंक निर्धारण गर्छ ।

इतिहास

ट्रेल रेसको नेपाली इतिहास दुई दशक पुरानो छ । नेपालमा ट्रेल रेस भित्रयाउने श्रेय बेलायती नागरिक रिचार्ड बललाई जान्छ । उनले मीरा राईलाई अगाडि सार्दै ट्रेल रनिङ नेपाल नामक संस्था दर्ता गरेका छन् । बलले हरेक नेपालमा आयोजना हुने ट्रेल रेसको अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता गराउने विशेष भूमिका खेल्दै आएका छन् । राई नेपालकै अन्तर्राष्ट्रिय अल्ट्रा विश्व च्याम्पियन धाविका समेत हुन् । अर्का बेलायती नागरिक जन टर्नर पनि ट्रेल रेसको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

सन १९९५ मा पोखरामा अन्नपूर्ण ट्रायथोलन आयोजना गरिएको थियो । जुन साहसिक खेल प्रतियोगिताको पहिलो खुडकिलो थियो । त्यसै समयमा घोडेपानी टु पोखरासम्मको १०० किलोमिटर दौड समेत आयोजना गरिएको थियो । त्यो दौडले ट्रेल रेसको छनक दिएको थियो ।

१९९९५ मा आयोजित ‘सातौं अन्नपूर्ण ट्रायथोलन च्याम्पियनसिप’ मा विश्वका च्याम्पियनहरु सहभागि थिए । फेवातालमा पौडिने र सराङकोटमा दौडिएका थिए । जुन ट्रायथोलन भित्रयाउने श्रेय भने पोखरेली रमेश भट्टचनले गरेका थिए । उनकै मार्ग निर्देशमा पोखरा ट्रेल रेस सिरिजको जग बसाल्ने प्रेरणा मिलेको क्लबका पदाधिकारी सुनाउँछन् ।

ट्रेल रेस सिरिज
ट्रेल रेस सिरिज
पोखरामा शुरुवात

केही वर्ष अघि फर्कनुपर्छ । ट्रेल रेसको शुरुवात खासै भएको थिएन् । संस्था भने नेपाल माउण्टेन रनिङ संघ थियो नेपालमा । जसको उद्देश्य ट्रेल रेस आयोजना गर्नु थियो । साथी भाइमा निकै चाहना थियो दौडिन् । ‘५/७ जनाको समूह थियो । कहिले रानीबन त कहिले अन्य ठाँउमा दौडिरहथ्यौं ।’ विगत सम्झदै गुरुङ भन्छन–‘रहरै रहरमा रनिङ क्लब दर्ता गर्यौं ।

जुन जिल्ला खेलकुद विकास समितिमा दर्ता गरेपछि ट्रेल रेस गर्ने आँट गर्यौं ।’ पोखराकै रानीपौवा स्पोर्टस सेन्टरमा बसेर क्लब गठन गरी स्पोर्टस टुरिज्मको नयाँ आधार तयार गर्ने उद्देश्यसहित टे«ल रेस गर्ने जमर्को गरेको क्लबले गरेको थियो । सन २०१८ बाट पोखरा ट्रेल रेस सिरिज अगाडि बढ्यो ।

क्लबमा १३ जना सदस्य छन् । शुरुवातमा खासै चासो नभएपछि पछिल्लो समय सबै साथीभाइको उल्लेख्य साथ र सहभागिता रहदै आएको छ । उर्जा मिलेको छ । चौथो सस्करणको टे«ेल रेसको लागि पन्चासे क्षेत्रमा जीपिएक्स तयार (हिड्ने, दौडिने रुटको नक्सांकन) गरिसकिएको छ ।
विगतलाई नियाल्दा पोखराबाटै टे«किङ शुरु हुन्थ्यो । त्यही ट्रेकिङ रुटलाई टे«ल रेस गर्दै प्रवद्र्धन गर्न सहज भएको छ ।

पदयात्रा रुट

अहिले पर्यटकविहीन अवस्थामा रहँदा यस्तो प्रकृतिको रेसले फेरी पर्यटकलाई फर्काउने कोशिस रनिङ क्लबले गरेको छ । वर्षमा चारवटा ट्रेल गर्दै आएको छ । तर पीडा भने उस्तै छ । प्रायोजकको अभाव । प्रायोजकै अभावमा अझ उल्लासमय बनाउन नसकिएको गुनासो क्लबको छ ।
‘ट्रेल रेस सिरिजलाई अझ प्रवद्र्धन गर्न सकिरहेका छैनौं ।’ उनी भन्छन–‘रेडबुलले प्रायोजन गरेको छ त्यसले हामीलाई पुग्दैन् ।

अन्य क्षेत्रबाट आर्थिक रुपमा सर्पोटिङ हुन सकेको छैन् ।’ साथीभाइले उठाएर रेसलाई यो स्थितिसम्म ल्याईपुर्याइएको छ । अमेरिकामा रहेका राजीव श्रेष्ठले प्रवद्र्धनात्मक भूमिका खेल्दै आएका छन् । विदेशी धावकलाई पोखरा ट्रेल रेसमा पठाउनेदेखि सम्पर्क गराउने काम उनैले गरेका छन् ।
आईटिआरएमा विश्वका ५० हजार क्लब आवद्ध छन् ।

विश्वमै आयोजना गरिने रेस, त्यसको नियम र दौडिने रुटको बारेमा जानकारी दिने गर्छन् । वर्षेनी आईटिआरएको कन्भेन्सन हुन्छ । हामीले पनि ट्रेल रेसको फुटेज पठाउँछौं । जुन फुटेज हेरेर अन्तर्राष्ट्रिय धावकको सहभागिता वर्षेनी बढ्दै गएको छ । व्यवस्थापकीय खर्चकै कारण रेसलाई बजारीकरण गर्न नसकिएको ठम्याई क्लबको छ । सामान्य त ३ लाख रुपैयाँ खर्च हुने भएपनि प्रायोजनको अभावले अझ गुणस्तरीयता दिन सकिएको छैन् । स्पोर्टस टुरिज्म प्रवद्र्धन गर्ने उद्देश्य राखिएपनि नेपाल पर्यटन बोर्डबाट प्रभावकारी सपोर्ट भने नभएको गुनासो उनीहरुको छ ।

ट्रेल रेस सिरिज
ट्रेल रेस सिरिज
प्रत्येक ट्रेल रेस नयाँ ठाँउमा

पोखरा टे«ल रेस(रनिङ क्लब)ले वर्षमा चार वटा रेसलाई सिरिजको नाम दिएको छ । सिरिजमा चार पटक नयाँ ट्रेल खोज्दै आएको क्लबले जनाएको छ । क्लबका अध्यक्ष विकास गुरुङका अनुसार प्रत्येक तीन तीन महिनामा आयोजना गरिने ट्रेल रेसलाई नयाँ रुट खोज्छौं । ‘हामीले जुन रुटमा दौडाईरहेका छौं । त्यो रुट हराउँने अवस्थामा थिए । फेरी ब्युताएका छौं ।’ उनको ठम्याई छ ।

पहिलो काहुँडाडा, दोस्रो रानीवन, तेस्रो मेथलाङ र चौथो पन्चासे क्षेत्र छ । ‘एउटै ट्रेलमा दौडाउँदा धावकले नयाँपन पाउँदैनन् । त्यसले नयाँ नयाँ रुटको लागि गेम सकिएपछि अध्ययन गर्न निस्कन्छौं ।’ उनी भन्छन् । पन्चासे क्षेत्रमा दौडिएपछि क्लबले यो वर्षको सिरिजलाई टुग्याउने छ । र अर्को वर्ष सन २०१९ मा नयाँ रुटमा फेरी शुरुवात गर्ने छ ।

पाँचौ सस्करणको ट्रेल रेसको शुरुवात भने क्लबले भरतपोखरी–निर्मलपोखरी–कृस्ती– मट्टीखानलाई जोड्ने योजना बनाएको छ । क्लबले अन्यत्र जिल्लामा सिरिजलाई लैजाने सम्भावना भएपनि आर्थिक भार बढ्ने हुदाँ सम्भावना नहुने जिकिर गर्दै आएको छ । ‘हामीलाई स्पोन्सर भए हामीले छिमेकी जिल्लामा टे«ल रेसको आयोजना र व्यवस्थापन गर्छौ ।’ क्लबका पदाधिकारीको एकै स्वर थियो ।

कमेन्टहरु
Loading...