फुटबलका फुर्तिला राजु !

वाशुदेव मिश्र

५ फिट ४ इञ्चको औषत नेपाली उचाई । पोखराको पृथ्वीनारायण क्याम्पस अगाडि वा लनटेनिस कोर्टसँगैको क्यान्टिनमा गफिँदै गर्दा उनी हल्का गफाडि पनि लाग्छन् । देख्नेहरु उनलाई अरुजस्तै बुढेसकालको बाध्यता र रहरले बनाएको ‘पसिना बगाउने’ खेलाडी सम्झन्छन्, सायद ! तर, यी फुर्तिलाको भने कुरा भिन्नै छ । राजु गुरुङ, नेपालकै कहलिएका फुटबल खेलाडी हुन् भन्नेचाहिँ कमैलाई मात्र थाहा छ ।

कुरो २०४० सालतिरको हो । लाहुरे सहर पोखरामा रहरले फुटबल खेल्नेहरुको कमी थिएन ।हङकङमा जन्मेर पोखराको बगरमा हुर्केका उनी फुटबल ‘क्रेजी’ नहुने कुरै थिएन । होँचो भए पनि बल ‘डिब्लिङ’ अनि जुधेर खेल्न सक्ने बानी न जो प¥यो !त्यहाँको बुलेट क्लवको मिडफिण्डरको जिम्मा पाइहाले । त्यो बेलाको चर्चित बुलेट क्लवमा उनी राम्रैसँग जमे ।  ‘त्यहीँबाट सुरु भयो मेरो खेलाडी जीवन’, एक बिहान गफिँदै गर्दा उनले सुनाए,‘त्यसपछि त म गण्डकीबाट अण्डर सिक्टिन खेल्न पो छानिएँ ।’खेल्न पुगे थाइल्याण्ड, टोलीमा मणि शाह, उमेश मास्के,राजु तुलाधर, बिराट शाहलगायतका खेलाडी थिए ।

फुटबलका फुर्तिला राजु गुरुङ
फुटबलका फुर्तिला राजु गुरुङ

थाइल्याण्ड बलियो गनिन्थ्यो त्यतिबेला । उनको टिमले भारतलाई जित्यो, जापानसँग बराबरी खेल्यो र थाइल्याण्डसँग हार ब्यहो¥र्यो । उनलाई याद छ, अंकका कारण नेपाल दोस्रो चरण पुग्न सकेन । उनको वास्तविक खेल जीवन भने मनाङ मस्र्याङ्दी क्लवबाट सुरु भयो । अहिलेको चर्चित मनाङ सि डिभिजन खेल्थ्यो त्यतिबेला । सि डिभिजनमा भाग्य अज्माउदा राजु ‘गाउँले’ नामले चर्चित थिए । ‘टिममा धेरै राजु भएकोले त्यो नाम पाएको’, उनले सुनाए,‘जुझारु, छिटो खेल्ने र छिट्टै निर्णय गर्ने मिडफिल्डर मानिन्थेँ म त्यतिबेला ।’

खेलाडीको रुपमा राजु चम्किए, मनाङ पनि उभोँ लाग्यो । सि डिभिजनको क्लव बि हुँदै एमा पुग्यो । रहरले फुटबलर बनेका राजुले राजधानी बस्दा खाना र केही तलव पाउँथे । खेल्नुको मज्जासँग पैसा दाँज्ने उमेरै पो कहाँ थियो र त्यो ?खेल्दै गर्दा आर्मीले उनीमाथि आँखा लगायो । उनले आर्मी ज्वाइन गरे । पद थियो– हवल्दार मेजर ! काम थियो, खेल्नु । तलव नपाउने कुरै भएन । असार साउनमा हुने लिग र बाहिनी कप खेले पहिलो वर्ष । ३ नम्बर बाहिनी शेरगणबाट खेल्दा उनको टिमले प्रतियोगिता त जितेन तर १८ वटा टिममा पाचौँ बन्यो । त्यस्तैमा उनको राष्ट्रिय टोलीमा ‘डेब्यु’ भयो । देशको प्रतिनिधित्व गर्दै उनी पाकिस्तान, भुटान, थाइल्याण्ड र बंगलादेशसम्म पुगे । नेपालमा राष्ट्रिय टोलीका चर्चित खेलाडी गणेश थापासँग कुममा कुम जुधाएर खेलेको उनलाई अहिल्यै जस्तो लाग्छ रे !

फुटबलका फुर्तिला राजु गुरुङ
फुटबलका फुर्तिला राजु गुरुङ

जीवनलाई मोड र घुम्तीको यात्रा मान्ने हो भने ‘गाउँले राजु’को जीवनमा पनि त्यही लागु भयो । राष्ट्रिय टिमका प्रशिक्षकले उनलाई रुचाएनन् र टिममा राख्न नसक्ने प्रतिक्रिया दिए । कोचसँग कुरा नमिलेपछि मन त कुँडिने नै भयो । ‘टिममा पर्न तिम्रो सोर्स पुगेन भनेपछि मैले खेल्न छाडेँ र जापान हानिएँ ।’ यसो भनिरहँदा उनी फुटबल भित्र हुने अनेकौैँ षड्यन्त्रबारे सायद मनमनै गम्दै थिए । ९ वर्ष जापान बसे उनी । जापानको मेहनतले आर्थिक हैसियत राम्रै बन्यो । फुटबल छाड्दा जति दुःखी थिए, अहिले उनलाई पछुतो छैन ।ठीक समयमा फुटबल खेलेर ठीक समयमा फुटबल छाडेको मान्छन् आफूलाई उनी ।

उमेर छँदा खेल्ने र पछि पछुताउनु पर्ने नेपाल न प¥यो ! उनी भन्छन्,‘खेलमै जीवन बिताएको भए हदै भए कोच हुन्थेँ होला, भविष्य के हुन्थ्यो भन्न सकिदैनथ्यो ।’त्यसो त परिवारकै दिदी राष्ट्रिय खेलाडी बन्दा समेत केही नपाएको उनले नदेखेका भने हैनन् । राजुलाई कसैले फुटबल सिकाएन । शंभु केसीलगायतका केही अग्रज दाईहरुले एउटै टिममा हुँदा कोचको भूमिका निर्वाह गरेका थिए । उचाई कम भए पनि फुटबलप्रतिको लगावले आफू खेलाडी भएको उनको ठम्याई छ ।‘हाइट नहुँदा खासमा हेडिङ गर्न गाह्रो हुन्छ तर टाइमिङ मिल्यो भने त्यो पनि सकिन्छ, खेलाडी फास्ट चाहिँ हुनैपर्छ । ’कुरैकुरामा उनले मिडफिल्डर हुँदाको फाइदा पनि सुनाउन भ्याए । उनको अनुसार गोल गर्नुभन्दा पास मिलाउन मज्जा हुन्छ रे ! मिडमा खेल्दा आफूले दिएको पासमा मणि थापाले गरेका गोलहरु उनले अहिलेसम्म बिर्सेका छैनन् । ‘निकालेको बल गोल हुँदा बल्ल मज्जा आउँछ’,उनले भने,‘ खाना मिलाउने हामीले हो, स्ट्राइकरले त खानेमात्र हो ।’

३२ वर्षमा घरजम गरेका उनी अहिले पोखरामा खेलकुदकै सामान बेच्ने व्यवसायी बनेका छन् । खेलकुदकै प्रभावमा थालेको यो व्यवसायलाई अहिले श्रीमती देवी गुरुङले सघाएकी छन् । जेठो प्रशान्त हुर्किसक्यो भने सानो देव सानै कक्षामा पढ्दैछ । उनी भने बचेको समय खेलकुद र साथीभाईसँगै रमाउँछन् । टेनिस कोर्ट अहिले उनको प्यारो बनेको छ । नेपालको खेलकुदले गति नलिएमा भने उनी चिन्तित छन् । गाला रातो भइञ्जेल खेलकुद भन्ने अनि बुढेसकालमा पछुताउनु नेपाली खेलकुदको नियति हो भन्ने उनको बुझाई अझै बदलिएको छैन । खेलकुदमै जीवन बिताउनेहरुलाई पेन्सन, बीमालगायतका सुविधा दिन सके खेलकुदले गति लिने उनको धारणा छ ।

स्तर नबढे पनि खेलकुद गतिविधी बढेको अनि फुटबलमा केही भए पनि व्यवसायिकता भित्रिएकोमा उनी खुसी छन् । फुटबल बुट किन्न गाह्रो हुने समयमा खेलेका उनले खेलकुद प्रोत्साहित गर्न कोचहरु उत्पादन र स्कूलस्तरीय खेलकुदलाई राम्रो बनाउनु पर्नेमा जोड दिए ।  ‘जापान र इरानमा कोच नै कोच हुन्छन्, नेपालमा भने ए लेभलका कोच नै हुँदैनन्, यस्तोमा कसरी खेलकुदको विकास हुन्छ ?’, उनले प्रश्न गरे अनि उत्तर पनि आफैले दिए–‘स्कूल लेभलमा धेरै कोच पठाउनु प¥यो ।’
प्रतिक्रियाको लागि ः [email protected]

कमेन्टहरु
Loading...