घन्टाघर ढल्ने हल्ला चलेपछि…

गिरीश गिरी/‘घण्टाघर ढल्ने हल्लाले वीरगन्जमा तनाव’, बिहीबार बिहान एकाएक यो समाचारले बिथोलिदियो । अघिल्लो दिन दिउँसो १२ बजे घन्टाघरको पश्चिमी भागमा क्षतिग्रस्त संरचना झरेको रहेछ । त्यो करिब ८५ फिट अग्लो संरचनाको माथिल्लो भागमा पर्छ । घडीभन्दा ठीकमाथि । त्यहाँ प्यागोडा शैलीको छानालाई गरिएको प्लास्टरका करिब दुई मिटर अंश उप्किएर झरेका रहेछन् । घण्टाघरवरपर सर्वसाधारणको बाक्लो ओहोरदोहोर हुन्छ ।

त्यसैले त्यतिमाथिबाट जे झरे पनि ठीक तल सजिलै आतंक सिर्जना गरिदिन्छ । भागाभाग मच्चियो, अलिपर सर्वसाधारणको भीड लाग्न थाल्यो र यस्तैमा कसैले हल्ला चलाइदिए, ‘अब घण्टाघर ढल्छ ।’ फेरि कुनै अंश झर्ला र दुर्घटना नहोस् भन्दै त्यो क्षेत्रमा हिँडडुल बन्द गराउने प्रहरीको कदमले पनि अनर्थ कोलाहल मच्चाउनेलाई सहयोग गरिदियो । प्रमुख जिल्ला अधिकारी कैलाशकुमार वजिमयले सर्वसाधारणलाई नआत्तिन अपिल गरे पनि मान्छेमा भय जीवित थियो ।

वीरगन्जको घण्टाघरले सही समय दिन छाडेको वर्षौं भइसकेको छ । चार दिशामा रहेका यसका चारवटा घडीले प्रायः चार बेग्लाबेग्लै समय देखाइरहेको हुन्छ । यसरी सहरको शोभामा मात्रै सीमित हुँदै गएको यो संरचनाले पछिल्लो समय झन उल्टै ‘ढल्न लाग्यो’ भन्ने हल्ला बोकेर आतंकित पार्न थालेको छ । केटाकेटीमा हामी खेल्ने त्यो ठाउँमा हेर्दाहेर्दै ठडिएको घण्टाघरका समाचारले बेला बेलामा मलाई बाल्यकालतिरै फर्काउँछ ।

२०३५ सालको एक दिन मेरो घरमा धमाधम अनौठा घटना हुन थाले । सबैभन्दा रमाइलो चाहिँ बुवाले बोलाएर ल्याउनुभएको मिस्त्री हाम्रो शौचालयमा पसेपछि लागेको थियो । स्कुल जान पनि सुरु नगरेका हामी केटाकेटीमा तीव्र कौतुहल जाग्यो । के के न गर्लान् भनेको, ती मिस्त्रीले त ट्वाइलेटको भित्तामा एउटा ह्याण्डिल जस्तो पो ठोकेर गए । पछि त्यसै ह्याण्डिलमा एउटा कागजको डल्लो घुसारियो । चंगा उडाउने ‘गोल्टिनमार’ धागो बेरिएजस्तै कागजको लामो सप्को बेरिएको त्यो अनौठो डल्लो ।

हामी पालैपालो ट्वाइलेट जाँदै त्यो डल्लोलाई हेर्दै र फर्किदै गर्न थाल्यौं । हेरेर मात्र पुगेन, छामेर मात्र पुगेन, सुँघ्यौं पनि । ए गाँठे, हल्का बास्ना पनि आउँदो रहेछ । गजबको डल्लो । पछि थाहा भयो यसलाई ‘ट्वाइलेट पेपर’ भन्दा रहेछन् । विदेशीहरूले शौच गरेपछि नितम्व सफा गर्ने साधन । त्यतिबेलै हामीले थाहा पनि पायौं, एक जापानी केही दिनका निम्ति हाम्रो घरमा बस्न आउँदैछन् । हामीलाई केही दिनपछि आउने जापानीभन्दा पनि त्यस डल्लोले तत्काल तानेको थियो । पटकपटक शौचालय जानुपर्ने हुन थाल्यो । हाम्रा हर्कतले आजित भएर पछि त्यो डल्लो विदेशी नआउन्जेलका निम्ति ट्वाइलेटबाट हटाइयो ।

यसरी हाम्रो घरमा भित्रिएका थिए जापानका यु आसा । हामीले जीवनमा पहिलोपटक साक्षात्कार गरेको विदेशी तन्नेरी । अनौठा अनौठा हरकत गर्ने । अरुबेला म र भाइले जे गर्न छुट पाउँथेनौं ऊ त्यही चिज गर्न लगाउँथ्यो र रमाउँथ्यो । हामी कुस्ती खेल्थ्यौं, उ फोटो खिच्थ्यो । हामी आमाले सुकाउनुभएको लुगामा झुण्डिन्थ्यौं, उ फोटो खिच्थ्यो । त्यसभन्दा अगाडिसम्म हामीले देखेका क्यामराहरु डब्बाजस्ता हुन्थे । नुहाइवरि, पाउडर र गाजल दलेपछि खिचाउन लगिने स्थान, त्यही सहरको पुरानो भाइ स्टुडियो थियो । त्यहाँ खिचिएका मात्रै होइन, संसारका जुनै क्यामराले खिचेका फोटो पनि ब्ल्याक एण्ड ह्वाइट मात्रै हुन्छन् भन्ने हाम्रो मान्यता थियो । तर, पत्याउनु कि नपत्याउनु, यु आसाको घाँटीमा झुण्डिएको यो अनौठो क्यामराले रंगीन फोटो खिच्छ पो भनियो ! भाइ स्टुडियोको डब्बाभन्दा बेग्लै चिटिक्कको अनि अगाडितिर गोलो ठुँसो निस्केको ।

यु आसाले प्रत्येकपटक क्यामरा तेस्र्याउँदा त्यो गोलो ठुँसोलाई खुब जतनसाथ एकछिनसम्मै घुमाउँथ्यो । ऊ जापानबाटै ल्याएको रिलका पोका खोल्दै हाम्रा अनगिन्ती फोटो खिच्थ्यो र खिचेका रिल फेरि जतनसाथ पोका पाथ्र्यो । यु आसालाई सबैभन्दा कठिनाइ हाम्रो भान्छामा परेको थियो । सबैभन्दा पहिले हातले खान खोज्दा उसको हातै मोडिएन । हत्तपत्त चम्चा ल्याइयो । उसले हातैले खाने इच्छा देखायो । त्यसपछि केहि छाकसम्मै एउटा तमाशा हुन्थ्यो त्यहाँ । उसका हातलाई मोड्दै गाँसलाई मुखसम्म पु¥याइ दिनुपर्ने । त्यही गाँस पनि बीचैमा पोखिसक्थ्यो । क्लाइमेक्स चाहिँ एकदिन तरकारी अलि पिरो परेका बेला भएको थियो । खै के भएर हो त्यसदिन अलि चर्कै पिरो थियो । त्यसमाथि उसले दालभात नमुछेर हेर्दाहेर्दै सबैभन्दा पहिले त्यही तरकारी मात्र मुठ्याएर गम्क्यायो । हरे भगवान ! उसका दुवै आँखाबाट बलिन्द्र आँसु बग्न थाले । त्यो दुधजस्तो सेतो अनुहार अचानक गोलभेँडाजस्तै रातो भयो । लौ न के भयो यसलाई ? धमाधम चिनी ख्वाउन थालियो । कसैले मुखैको छेउमा बाँसको पंखा हम्कन थाले । त्यसदिन बुवाले यस्तरी सात्तो लिनुभयो, प्रतिफलमा उ बसुन्जेल भान्छामा उसिनेसरहका तरकारी मात्रै पाक्न थाल्यो ।

फुसले बनेको र त्यसमा पनि एउटा भित्तो भत्किएर ह्वांगै देखिने हाम्रो भान्छामा खै के आकर्षण थियो ? ऊ अनेक कोणबाट त्यसको फोटो खिच्थ्यो । कसौडी, तसला, तावा र दाउरा कोचेर पकाइने चुल्होमा व्यस्त आमा । हामीले त्यस भान्छामा बसेर खाएको एउटा तस्बिर त पछि कुनै जापानी म्यागजिनमा छापेको पनि थियो । सायद केही पछि जापान पुग्नुभएका बुवाले ल्याउनुभएको थियो । चिल्लो कागजमा केहि नबुझिने अक्षर र त्यसमा छापिएको हाम्रो रंगीन फोटो ।

यु आसा बुवासँगै विहान निस्केर सँगसँगै बेलुकी मात्र आउँथ्यो । हाम्रो घरबाट तीनसय मिटर पर केहीयता एउटा अजंगकै अग्लो संरचना ठडिएको थियो । त्यो संरचना केको थियो थाहा थिएन । तर, हामी खेल्दै पुग्ने त्यो ठाउँमा संरचना उभ्याउनुअघि गतिलै खाल्डो खनेर पानी भरिएको थियो । त्यतिबेलै त्यस ‘पोखरी’मा हामी टोलका केही केटाकेटी पौडी खेल्न खोज्दा नगर पंचायतको पालेले परैसम्म लखेट्यो । त्यसपछि हामी त्यता जानै छाडेका थियौं । अब भने गतिलै उचाइमा ठडिसकेको त्यो अग्लो मन्दिरजस्तो घरमा बुवा र यु आसा नियमित जान थाल्नुभएको थियो । गाउँबाट आएका मान्छे त्यो प्यागोडा शैली देखेर जिज्ञासा राख्दै सोध्थे, ‘यति अग्लो मन्दिर किन बनाएको ?’ उनीहरु अचम्म मान्दै भन्थे, ‘यसको पुजारी झन् कति अग्लो होला ?’

एकदिन बाहिर निस्केको बेला हामीले बाँसैबाँसले घेरिएको त्यसै अग्लो संरचनामा बुवा र यु आसालाई उक्लिरहेको देख्यौं । घर आएपछि हाम्रो जिज्ञासाको जवाफ मिल्यो । ‘त्यो अग्लो मन्दिरजस्तो घर घण्टाघर हो,’ बुवाले भन्नुभयो, ‘त्यहाँ जडान गरिने घडी जापानबाट सहयोगमा आएको हो ।’ त्यो घडी प्रदान गर्नकै निम्ति यु आसा आएको जानकारी पनि बुवाले दिनुभयो ।
त्यसपछि यु आसाले बुवामार्फत् बताएको कुरा यस्तो थियो–
‘म जापानको योनागो जेसिजबाट आएको हुँ । हामीभन्दा कम सुविधा रहेको नेपालमा यस्तो घण्टाघर बन्दैछ भनेर जानकारी दिएपछि त्यहाँका स्कुल पढ्ने केटाकेटीले खाजा खाने खर्च जोगाएर चन्दा संकलन गरिदिए । त्यो पैसाबाट सिको कम्पनीको आधुनिक (१९७१) मोडलको चारवटा ठूलो घडी किनेर योनागो जेसिजले उपहार दिन लागेको हो । यो घडी जडान भएपछि यसले प्रत्येक आधा घन्टामा मिठो धुन सुनाउँछ । तिमीहरूले मलाई सुनाएको गीतजस्तै त्यो आवाज आएका बेला योनागोका केटाकेटी तिमीहरूका निम्ति गाइरहेका छन् भन्ने ठान्नु ।’

यु आसाका कुरा सुनिरहेका बेला हामीलाई त्यसरात दन्त्यकथा सुनेजस्तै भयो । त्यसको केही दिनमै यु आसा फर्किए । उनले छाडेर गएका घडीहरुबाट भने दुई दसकभन्दा लामो समयसम्मै ‘योनागोका केटाकेटीले गाइरहेका’ आवाज बजिरहन्थ्यो ।

‘त्यो घडी अब चल्दैन,’ लामो समय घडिको रेखदेख गरेका इन्जिनियर इन्द्ररजीत तानाका भन्छन्, ‘१९७१मा बनेको सिको कम्पनीको त्यो मोडल जापानमै उहिल्यै स्थगित भइसक्यो ।’ पुरानो घडीको बिग्रेका पार्टहरू नपाइँदा अब त्यो सिंगो घडी नै फेर्नुको विकल्प नरहेको इन्द्ररजीत सुनाउँछन् । उनका अनुसार केही वर्षअघि सिको कम्पनीकै प्राविधिकलाई वीरगन्ज लगेर देखाउँदा पनि उपाय नलागेको हो । यस्तो अवस्थामा वीरगन्ज उपमहानगरपालिकाले गत वर्ष घडीका निम्ति बजेटै छुट्याएको योजना विभागका प्रमुख प्रकाशमान अमात्य बताउँछन् ।

‘करिब ८ लाख रुपैयाँको खर्चमा भारतबाट ल्याउने पहल पनि अघि बढेको थियो,’ उनी भन्छन्, ‘तर, भर्खरै नेपाल टेलिकमले सहयोगस्वरुप घडी प्रदान गर्ने भनेपछि किन्ने प्रक्रिया अहिलेलाई रोकिएको छ ।’ वीरगन्जको घण्टाघर छेवैमा दुरसञ्चारको क्षेत्रीय कार्यालय भवन छ । घण्टाघरको भौतिक संरचनाका निम्ति भने चिन्ता लिनुपर्ने अवस्था नरहेको अमात्य सुनाउँछन् ।

‘प्यागोडा शैलीको पुरानो संरचना भएकाले त्यतिबेलाका प्लास्टरहरु चिरा पर्ने र वर्षात्का बेला उप्किने क्रम केही वर्षयता चल्न थालेको छ,’ उनी भन्छन्, ‘मूल संरचना (पिलर)मा कुनै समस्या छैन ।’
भत्किन थालेका छेउछाउका प्लास्टरहरु फोडेर पुरै मर्मत गर्नलाई काम भन्दा पनि लगानी र मेहनत बढी पर्ने अमात्यको कथन छ । ‘एकोहोरो अग्लिएको संरचना भएकाले चारैतिरबाट उत्तिकै अग्लो स्काफोल्डिङ (बाँस बाँध्दै अग्ल्याउने) गर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यो महँगो र झन्झटिलो भए पनि जोखिम हेरेर नगरपालिकाले छिट्टै यस विषयमा निर्णय लिनेछ ।’

तस्बिर : पंकज श्रेष्ठ

– See more at: http://setopati.com/blog/1675/#sthash.RekPpZtl.dpuf

कमेन्टहरु
Loading...