गिलुङमा फुटबल र म्याराथन

पोखरा, २८ पुुस /लमजुङको गिलुङस्थित बुद्धोदय माविको ४२औं वार्षिकोत्सवको अवसरमा फुटबल र म्याराथन दौड प्रतियोगिता हुने भएको छ । गिलुङको मिलन युवा क्लबले माघ ३ गतेदेखि ‘खुल्ला कोइचो देवी कप पुरुष तथा महिला फुटबल प्रतियोगिता गर्ने भएको हो । विद्यालयको वार्षिकोत्सवका अवसरमा क्लबले हरेक वर्ष प्रतियोगिता आयोजना गर्छ ।

प्रतियोगिताको सहआयोजक गिलुङ समाज युके, गिलुङ समाज हङकङ, गिलुङ गाउँ विकास समिति र गिलुङ गाउँ सुधार सहयोग समिति पोखरा हुन् । प्रतियोगितामा सहभागी हुन चाहने टिमले माघ १ र २ गते साँझ ५ बजेसम्म टिम दर्ता गर्न सक्ने क्लब अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । पुरुष टिमको दर्ता शुल्क ४ हजार र धरौटी शुल्क १ हजार रुपैयाँ रहेको छ । अनुशासित टिमलाई दर्ता शुल्क फिर्ता गरिने अध्यक्ष गुरुङले बताए ।

महिला टिमलाई भने दर्ता शुल्क नलाग्ने उनले जानकारी दिए । पुरुष फुटबलतर्फ प्रथम हुने टिमलाई नगद ६० हजार रुपैयाँ, रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । दोस्रो हुने टिमले नगद ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउने छ । महिला फुटबलतर्फ भने प्रथम हुने टिमले नगद २० हजार रुपैयाँ, रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । दोस्रो हुनेले १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र पाउने छ । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गर्ने बताइएको छ ।

विद्यालयको वार्षिकोत्सवकै अवसरमा माघ ५ गते गिलुङ खुल्ला म्याराथन दौड प्रतियोगिता हुने भएको छ । युके निवासी नन्दप्रसाद लेम गुरुङले दौड प्रतियोगिता आयोजना गर्न लागेका हुन् । १० किलोमिटर दौड प्रतियोगितामा १४ देखि ४५ वर्ष उमेर समूहकाले भाग लिन पाउँने छन् । ५ किलोमिटर दौड प्रतियोगितामा उमेर समूह छुट्याइएको छैन ।

प्रतियोगितामा सहभागिता जनाउन चाहनेले माघ ५ गते विहान ११ बजेसम्म मिलन युवा क्लब वा विद्यालय प्रशासनमा नाम दर्ता गराइसक्नुपर्ने क्लब अध्यक्ष सन्तोष गुरुङले बताए । १० किलोमिटरतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश २ हजार, १५ सय र १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ५ किलोमिटरतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश १ हजार, ६ सय र ४ सय रुपैयाँ पाउनेछन् ।

कमेन्टहरु
Loading...