ल्होसारमा लेखनाथकी १ सय १३ बर्षिय बृद्धा सम्मानित

लेखनाथ, १५ पुस/ गुरुङ्गहरुको महान पर्ब ल्होसारको अबसरमा लेखनाथमा ११३ बर्षिय बृद्धा सम्मानित भएकी छन् । पचभैया तमु समाजले स्थानिय धन कुमारी गुरुङ्गलाई जेष्ठ नागरिक सम्मानले सम्मान गरेको हो ।गुरुङ्गलाई प्रहरी निरिक्षक रविन्द्रमान गुरुङ्ग,नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य ऋषीकान्त पौडेल ,पचभैया तमु समाजका अध्यक्ष बुद्धि बहादुर गुरुङ्गले संयूक्त रुपमा दोसल्ला ओडाएर तथा सम्मान पत्र प्रदान गरेका थिए ।

११३ औं बर्षमा आफ्नै गाउँको समाजले सम्मानित गरेपछि धन कुमारी हर्षित हुदै सम्मानले अझै बाँच्ने प्रेरणा जागेको बताइन् ।
धन कुमारीलाई नेपालकै सबै भन्दा जेष्ठ नागरिकका रुपमा परिवार तथा स्थानिय बासिहरुले दावि गर्दै आएका छन् । गुरुङ्गलाई यस अघि पनि विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुले जेष्ठ नागरिकका रुपमा सम्मान गरिसकेका छन् ।
यसअघि पचभैया तमु समाजद्धारा आयोजित ल्होसार शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक गुरुङ्गले समुदायको महान पर्वका अवसरमा ज्येष्ठ नागरिक समाजको गर्वको विषय रहेको र सो सम्मानले सबैमा दिर्घायूको आर्शिवाद मिलेको विश्वास व्यक्त गरे ।

पर्यटकिय क्षेत्र पचभैयामा निर्माणाधिन मङ्गल धर्मचक्र बौद्ध गुम्बा निर्माण शुरुको १५ वर्ष वित्दा समेत आर्थिक अभावका कारण सम्पन्न हुन नसक्नु दुःखद भएको बताउँदै सो का लागि सहयोग गर्न गुरुङ्गले सबैलाई आग्रह गरे । कार्यक्रममा बोल्दै युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेलले बेगनास र रुपाताल एकैसाथ देखीने पचभैयामा बौद्ध गुम्बा निर्माण हुन सके यस क्षेत्रको पर्यटन विकासमा उल्लेखनिय योगदान पुग्ने बताए ।

समाजसेवी तथा सिड फाउन्डेसनका संस्थापक अध्यक्ष दामोदर भक्त थापाले गुम्बाको तत्काल निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिंदै स्थानीय पहिचान र पर्यटनको सम्भावनालाई गन्तव्यमा पुर्याउन पनि बौद्ध मन्दिर सहितको गुम्बा निर्माण गर्न सबैको एकमत रहनुपर्नेमा जोड दिए । कार्यक्रममा सिड फाउन्डेसनका अध्यक्ष नवराज अधिकारी, समाजसेवी हरि घिमिरे, तारामणि घिमिरे, अर्जुनप्रसाद लम्साल, सम्शेर ब गुरुङ्ग र शरण थापा लगायतले बोलेका थिए । पचभैया तमु समाजका अध्यक्ष बुद्धि ब। गुरुङ्गको अध्यक्षमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सचिव ज्ञान ब। गुरुङ्गले र सञ्चालन धन ब। गुरुङ्गले गरेका थिए ।

कमेन्टहरु
Loading...