तमु धिंमा ल्होछार शुभकामना आदान प्रदान र विविध सांस्कृतिक कार्यक्रम

पोखरा, १४ पुस/तमु जातिको नयाँ बर्ष, राष्ट्रिय चाड च्ह्या ल्हो तमु ल्होछारको अवसरमा तमु धिं नेपालले विहीवार शुभकामना आदान प्रदान र विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालको सभाहलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीय प्रसासक खगराज बरालले ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै ल्होछारले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । सरकारले टिभी हेर्नका लागि सार्वजनिक विदा दिएको होइन तमु समुदायको मौलिक सँस्कृतिको संरक्षण, सवद्र्धन र सम्मानका लागि हो, यो सबै भन्दा पहिला तमु समुदायले नै बुझ्नुपर्ने बताउनुभयो ।

उहाँले पुस्तकमा ल्होछार पाठ राखे पनि शिक्षकहरुले नै ल्होछारका बारेमा स्पष्ट नबुझेको अवस्था पनि रहेको बताउनुभयो । तमु समुदायसँग आफ्नो रगतको नाता नभए पनि भावनाको अत्यन्तै निकट मितको साइनो रहेको उहाँको भनाई थियो । विशेष अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले च्ह्य ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै नेपालको विविधतामा एकता हुनुपर्ने बताउनुभयो । ल्होछार जस्तो चाडले सद्भाव र एकताको विकास गर्ने उहाँको दावी थियो ।

प्रमुख जिल्ला अधिकारी मैनालीले जारी गरिएको संविधान कार्यान्वयनका लागि सबै जुट्नुपर्ने बताउनुभयो । उक्त अवसरमा प्रमुख अतिथि क्षेत्रीय प्रसासक बराललाई तमु जातिय मौलिक पोशाक भाङ्ग्रा, फेटा र खादा, प्रजिअ मैनालीलाई भाङ्ग्रा र खादाबाट सम्मान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएकी तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै पोखरामा ट्राफिक जामले समस्या पारेको बताउनुभयो । उहाँले पोखराको चोक, आइल्याण्डहरु घटाउने सबालमा आफुहरुले निर्माण गरेको तमु ह्युला चोकको साँगुरो बनाउन तयार छ तर पोखरा एवं तमु जातिको पहिचान तथा पर्यटकीय स्थल बनाउनका लागि तमु तमुस्याको सालिक सहित निर्माण गरिएको तमु ह्युला चोक गरिएको बताउनुभयो ।

कार्यक्रममा हिमाली साँस्कृतिक परिवार, याङ्जाकोट तमु समाज आमा समिति, हास्य कलाकार दीपक थापा, लोकगायक रामजी पौडेलको अत्यन्तै उत्कृष्ठ साँस्कृतिक, सांगितीक प्रस्तुति रहेको थियो । कार्यक्रममा तमु धिं नेपाल केन्द्रीय आमा समितिका नवनिर्वाचित पदाधिकारी कार्यसमितिलाई स्वागत सम्मान गरिएको थियो भने तमु धिं युकेले पोखरा प्रदर्शनी केन्द्रमा पुस १६ गते हुने सामुहिक च्ह्य ल्होछार÷ल्होसार कार्यक्रमको सफलताको निम्ती पठाइएको १ लाख रुपैया तमु धिं युकेका नेपाल प्रतिनीधि मेजर लक्ष्मीप्रसाद तमुले सामुहिक ल्होछार÷ल्होसार मुल आयोजक समितिका संयोजक कर्म तमुलाई हस्तान्तरण गर्नुभएको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रम पुर्व तमु धिं नेपालका धार्मिक संयोजक लामा गोपाल तमुले ग्रहशान्तिका साथै शुभ आर्शिवचन प्रदान गर्नुभएको थियो । विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुको बृहत सहभागीता रहेको कार्यक्रममा तमुहरुको मौलिक खाजा सेलरोटी, गुन्द्रुक भट्मास, आलुदमको व्यवस्था थियो भने मेची स्पेसल सिटिसी चियाले चियाको प्रायोजन गरेको थियो ।

कमेन्टहरु
Loading...