विगत १८ वर्ष देखि पोखरामा सडक महोत्सव हुदै आएको छ । सधै जस्तै यस वर्ष पनि पोखरामा पुस १३ गतेदेखि १७ गतेसम्म ‘पोखरा सडक महोत्सव’ हुँदैछ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा महोत्सव हुदै आएको छ । ‘सडकमै खाउँ, सडकमै रमाऔं’ नाराका साथ सडक महोत्सवको आयोजान हुदै आएको छ । रेवान पोखरा पुर्व अध्यक्ष तथा महोत्सवबारे आयोजक संस्था रेबान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईसँग गन्थन डटकमका लागि सागर राज तिमिल्सिनाले गरेको कुराकानी ।
सडक महोत्सवले पर्यटन प्रवद्र्धनमा कस्तो योगदान छ ?
लामो समयदेखि तराईमा जारी आन्दोलन र नाकाबन्दीका बीच अभावैअभावको अवस्थामा यसपटक सडक महोत्सवको संस्करण आयोजना भएको छ । रेबान पोखराले प्रत्येक वर्ष सडक महोत्सव आयोजना गर्दै आइरहेको छ । अहिलेसम्म १७ पटक सडक महोत्सव सफल भइसकेको छ । यस वर्ष १८ औं महोत्सव हुँदैछ । सडक महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने र यहाँको पर्यटन प्रवद्र्धन गर्ने नै हो । पोखरालाई क्रिसमस तथा अंग्रेजी नयाँवर्षको प्रमुख गन्तव्य बनाउन महोत्सव सफल भइरहेको छ ।
पोखरामा रहेका होटल तथा रेस्टुरेन्टहरुलाई देश विदेशमा चिनाउने तथा स्थानीय उत्पादन, कृषि, अर्गानिक सामानको प्रदर्शन गरी संस्कृति संरक्षण गर्न महोत्सव सफल हुनेछ । पोखरामा पर्यटक भिœयाउने लक्ष्यका साथ आयोजित सडक महोत्सवबाट पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्यस्थल बनाउन सहयोग पुग्ने विश्वास छ । महोत्सवले बढीभन्दा बढी पर्यटक भिœयाउने आशा छ । पोखरा जुनसुकै सिजनका लागि उपयुक्त छ भन्ने सन्देश पनि दिन महोत्सवले खोजेका छौं ।

सडक महोत्सवको मुख्य आकर्षण के–के छन् ?
गत वर्षभन्दा यसपटकको महोत्सवलाई केही फरक बनाउने हाम्रो लक्ष्य छ । महोत्सवका अवसरमा सडकमा पोखराका तारेदेखि सामान्य होटलहरुले खानाका स्टलहरु राख्नेछन् । अरु बेला पैसा तिरेर पनि हेर्न नपाउने लोपउन्मुख सांस्कृतिक झलकहरु महोत्सव अवधिभर प्रस्तुत गर्नेछौं । राष्ट्रियस्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति, विभिन्न संस्कृति झल्कने नृत्य, आतसबाजी पनि महोत्सवको आकर्षण बन्नेछ । सबैभन्दा आकर्षण लेकसाइडको सडक नै बन्नेछ, जहाँ माग अनुसारका खानाका परिकारहरु खान पाइनेछ । यस वर्ष भारत, चिन, कोरिया लगायतका विदेशी सास्कृतीहरु ह्ेर्न पाइन्छन् भने कास्कीको कास्कीकोटको पुरानो सास्कृती, सुदुरपश्चिमको पुनानो नाच ल्याउने प्यासमा छौ ।
सडकमा महोत्सव गर्नुको उद्देश्य ?
पोखरा सडक महोत्सव नेपालको पर्यटन क्षेत्रमा छुट्टै पहिचानसहितको ब्रान्ड बनिसकेको छ । देशभरबाट मात्र होइन विदेशबाट वर्षको एकपटक सडक महोत्सव अवलोकन गर्न पोखरा जानुपर्छ है भन्ने भइरहेको छ । पोखरा संसारकै प्रमुख पर्यटकीय गन्तव्य मध्येको एउटा मुख्य सहर हो । पोखराको पनि लेकसाइडमा विशेष गरी पर्यटकहरुको भिड लाग्छ । यहाँ विदेशी मात्र होइनन् स्वदेशी पर्यटक पनि प्रशस्त आउँछन् । पोखरामा पर्यटकलाई लक्षित गरेर खुलेका होटल पनि प्राय लेकसाइडमा नै छन् । यसरी फेवातालको छेउमा रहेको लेकसाइड क्षेत्रको सडकमा महोत्सव आयोजना गर्दा खुला वातावरणमा रमाइलो प्राप्त गर्न सकिन्छ । एउटै सडकमा संसारमा कस्ताकस्ता किसिमका खानाहरु छन् भनेर दर्शकले अवलोकन गर्न पाउँछन् । विशेष गरी परिवार र साथीभाइ मिलेर सडकमा विभिन्न प्रकारका खानेकुरा खाँदै रमाइलो गर्न पाउँछन् । पारिवारिक वातावरणमा सडकमा महोत्सव आयोजना हुँदैछ । ५ दिनसम्म आयोजना हुने महोत्सवले वर्षभरिको लागि प्रचार–प्रसारको काम गर्नेछ । सडक महोत्सवले पर्यटकलाई नयाँपन दिइरहेको छ । जसले गर्दा पोखरालाई अन्तराष्ट्रि शहर बनाउन सहयोग गरेको छ ।

महोत्सवमा आउने आन्तरिक तथा बाह्यि पर्यटकको अवस्था कतो छ ?
पर्यटक लक्षित महोत्सव भएकाले हाम्रो टार्गेट पर्यटक नै हुन् । पोखरामा आन्तरिक तथा बाह्य दुवै पर्यटकको आगमन राम्रो छ । अहिलेको विशेष परिवेशले गर्दा विदेशी पर्यटकको संख्या केही कमी हुन्छ कि जस्तो लागेको छ । अहिलेको कठिन अवस्थामा बाह्यभन्दा आन्तरिक पर्यटक बढी हुन्छन् । केही वर्षदेखि सडक महोत्सवमा आन्तरिक पर्यटकको आगमन निकै राम्रो पाएका थियौं । यसपटक पनि आन्तरिक पर्यटक उल्लेख्य रुपमा आउने विश्वास गरिएको छ । विदेशी पर्यटकलाई सकेसम्म धेरै भिœयाउन पहल भइरहेकोछ । अहिलेको असहज परिस्थितिलाई सहज बनाउनका लागि हामी तल्लीन छौं ।