विमानस्थल विरोधी मन्त्रीको अभिव्यक्तिप्रति संघद्वारा खेद प्रकट

पोखरा, २५ मंसिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीले आफ्नो हालैको पोखरा भ्रमणको क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलप्रति प्रकट गरेको नकारात्मक टिप्पणीप्रति पश्चिमाञ्चल होटल संघ पोखराले आपत्ती प्रकट गरेको छ ।
नेपाल र चीनिया पक्ष विच पोखरामा नयाँ विमानस्थल बनाउन ऋण लगायत अन्य प्रकारका सम्झौताहरु समेत सम्पन्न भई विमानस्थलको शिलान्यस समेत भइसकेको अवस्थामा नेपाल आफ्नै पैसाले विमानस्थल बनाउन सक्षम छ भनी मन्त्री शाहीले दिएको अभिव्यक्ती खेदजनक भएको संघले जनाएको हो ।
संघका अध्यक्ष भरतराज पराजुलीले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थल निर्माण जस्तो संवेदनशिल विषयमा मन्त्री शाहीले दिएको हँचुवा र केटाकेटी पाराको अभिव्यक्तिले दुई देशको सम्बन्धमा समेत भ्रम र अविश्वास छर्ने अवस्था सिर्जना हुन सक्ने उल्लेख छ ।
विमानस्थल सम्बन्धी चीनको एक्सिजम बैंकसँगको ऋण सम्झौता र निर्माणका लागि भएको शिालान्यसले पोखरेली हर्षित भइरहेको अवस्थामा यहाँका जनताको चार दशक अघि देखि देखिको सपनालाई नजरअन्दाज गर्दै मन्त्रीले दिएको अभिव्यक्तिले पोखरेली र समग्र विकासप्रेमी जनमानसमा शंका उब्जने वातावरण सिर्जना भएको संघका अध्यक्ष पराजुलीले बताए ।
आबश्यक सबै सम्झौता सुरु भई प्रमुख दलका शीर्ष नेताहरुको उपस्थितमा शिलान्यास भएको विमानस्थल निर्माण कार्यमा मन्त्री शाहीले राष्ट्रघात देख्नुलाई उनी कतै कमिसनको खेलमा लागेका त छैनन् भन्ने शंका उब्जेको संघले बताएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ सालको नयाँ वर्षको दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको शिलान्यास गरेका थिए । सकारले २०७१ कात्तिक १० मा चिनिया कम्पनी सीएएमसीलाई विमानस्थल निर्माण गर्न ठेक्का दिएको थियो । २१ अर्ब खर्चमा उसले विमानस्थल बनाउने हो । प्रधानमन्त्रीको चीन भ्रमणका बेला चैत ८ गते उक्त विमानस्थलका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको थियो ।
कमेन्टहरु
Loading...