बुटवल, मंसिर १७।सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने माग गर्दै आज ठूला तीन दलका केन्द्रिय नेताको उपस्थितिमा बुटवलमा बिशाल प्रदर्शन भएको छ । नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतम सहित माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सम्बोधन गरेको सभामा भाग लिन गाउँ गाउँबाट सर्वसाधारणहरु बुटवल पुगेका थिए ।सभालाइ सम्बोधन गर्दै एमाले उपमहासचिव विष्णु पौडेल, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र कांग्रेस नेता चन्द्र भण्डारीले संशोधन प्रस्तावको चर्को आलोचना गरे ।

विदेशीको इशारामा ५ नम्बर प्रदेश विभाजन गर्ने प्रस्ताव आएको भन्दै यस्तो प्रस्तावले विखन्डनलाई मात्रै बल पुग्ने उनीहरुको जिकिर थियो त्यसैगरी, एमाले नेताहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट तथा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रदेश टुक्र्याउने प्रस्ताव ल्याउनेहरुलाई जनमतसंग्रह गरेर देखाउन चुनौती दिए ।संशोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी रहने उद्घोष पनि नेताहरुले गरेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थनमा सरकारले संशोधन विधेयक ल्याएको भए पनि पार्टीकै केन्द्रिय नेता तथा कार्यकर्ता त्यसको विरोधमा सडकमा उत्रिएका हुन् । एमालेले भने संशोधन प्रस्तावको विरोधमा सडक र सदनबाट आन्दोलन गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।
पाँच नम्बर प्रदेशका पहाडका जिल्ला छुटाइएको भन्दै बुटवल सहित, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम र रोल्पामा प्रदर्शन भइरहेको छ ।प्रदर्शनका कारण यी जिल्लामा उद्योग, व्यवसाय, शिक्षण संस्था, यातायात सेवा बन्द छन् ।यस्तै नेकपा एमाले निकट अनेरास्ववियुले सरकारले व्यवस्थापिका–संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्ताव अविलम्ब फिर्ता लिन माग गर्दै बिहान देशभरका सरकारी क्याम्पस अगाडि धर्ना दिएको छ । सरकारले संविधान संशोधनका लागि मंगलबार संसद् सचिवालयमा दर्ता गरेको मस्यौदामा प्रदेश नम्बर ५ लाई विभाजन गरी पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा र रुकुमलाई प्रदेश नम्बर ४ मा राख्न प्रस्ताव गरेपछि त्यसको विरोध भइरहेको छ ।