भारतीय राष्ट्रपति प्रणव मुखर्जी कात्तिक १९ गते पोखरा आउने, पोखरामा तयारी सुरु

पोखरा ९ कात्तिक। भारतीय राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १९ गते पोखरा आउने भएका छन् । राष्ट्रपति मुखर्जी नेपाल भ्रमणको क्रममा कात्तिक १९ गते जनकपुर हुदै सवा तीन घण्टाको लागि  पोखरा आउने भएका हुन्। राष्ट्रपति मुखर्जीले कात्तिक १७ देखि १९ सम्म नेपालको राजकिय भ्रमण गर्दै छन् । भारतीय राष्ट्रपति पोखरा आउने भएपछि स्थानिय स्तरमा तयारी सुरु भएको छ । भारतीय राष्ट्रपतिको पोखरा आगमनलाई भब्य बनाउने तयारी स्वरुप क्षेत्रीय प्रशासकको संयोजकत्वमा मुल ब्यवस्थापन समिति र विभिन्न पाँच वटा उपसमिति गठन गरिएको छ । मंगलवार आयोजित बैंठकाट क्षेत्रीय प्रशासक खगराज बराल संयोजक रहेको मुल ब्यवस्थापन सहयोग समिति गठन गरिएको छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी कात्तिक १९ गते पोखरा आउने ( तस्बिर सौजन्य: गिता रानामगर )
भारतीय राष्ट्रपति प्रणव मुखर्जी कात्तिक १९ गते पोखरा आउने
( तस्बिर सौजन्य: गिता रानामगर )

समितिमा पोखरा स्थित चार वटै सुरक्षा निकायका क्षेत्रीय प्रमुख, जिल्ला प्रमुख, स्थानिय विकास अधिकारी, पोखरा उपमहानगरपालिकाका, लेखनाथ नगरपालिकाका प्रमुख, नीजि क्षेत्र, सामाजिक संघसंस्थाका प्रमुख सदस्य रहेका छन् ।भ्रमण तयारीको लागि पोखरा उपमहानगरपालिले संयोजन गर्ने गरी स्वागतद्धारा निर्माण, सौन्दर्यीकरण तथा सरसफाई उपसमिति, विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको संयोजकत्वमा स्वागत ब्यवस्थापन उपसमिति, स्थानिय विकास अधिकारीको संयोजकत्वमा पूर्वाधार निर्माण उपसमिति र पत्रकार महासंघ कास्की संयोजक रहने गरी प्रचारप्रसार उपसमिति गठन गरिएको  छ ।

क्षेत्रीय प्रशासक बरालका अनुसार राष्ट्रपति मुखर्जी काठमाडौंबाट कात्तिक १९ गते विहान जनकपुर जाने र जनकपुरबाट पोखरा आउने कार्यक्रम छ । मुखर्जी पौने एक बजे पोखरा विमानस्थलमा अबतरण हुने र बिरौटा स्थित होटल पोखरा ग्राण्डमा केहिबेर आराम गर्ने कार्यतालिका छ । होटलबाट पोखरा १० रामबजार स्थित भारतीय पेन्सन क्याम्पमा जाने र त्यहा उपस्थित झण्डै १० हजार भूतपूर्व भारतीय सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम सकेर राष्ट्रपति मुखर्जी अपरान्ह ४ बजे काठमाडौं फर्किने क्षेत्रीय प्रशासक बरालले बताए ।

कमेन्टहरु
Loading...