पोखरा, ६ कात्तिक ।विजयदशमी, शुभ दिपावली, छठको अवसरमा पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले शनिवार पोखरा सभागृहमा शुभकामना सांस्कृतिक साँझ गरेको छ । सङगितमय वातावरणमा चाडपर्वको शुभकामना आदानप्रदान गर्ने उदेश्यले कार्यक्रम गरिएको हो।
सांस्कृतिक साँझमा खड्क गर्वुजा, शर्मिला गुरुङ, कुमार पुन, जानकी तारमी मगर सहित स्थानीय कलाकारको विषेश प्रस्तुती रहेको थियो भने सुर्याेदय कला केन्द्रले लोक नृत्य प्रदर्शन गरेको थियो। त्यस अवसरमा लोकदोहोरीको विकासका लागि महत्वपूर्ण भुमिका खेल्ने कलाकार रमेश विजिलाई सम्मान गरिएको थियो।उनलाई संंघका अध्यक्ष अर्जुन गुरुङ सहित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुले दोसल्ला ओढाउनुको साथै सम्मान पत्र प्रदान गरेका थिए।
कार्यक्रमको उद्घाटन पोखरा सिटी रेवानका अध्यक्ष के.पी शर्मा पाध्याले गरेका थिए। पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव जीवन गुरुङले स्वागत र मनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रमबाट बचत रकम लोकदोहोरी सहकारी स्थापना र सामाजिक हितका लागि खर्च गर्ने बताइएको छ।