कास्कीमा ६ वटा स्थानीय तह (गाउँपालिका) बन्ने

प्रकाश ढकाल
पोखरा, ५ कात्तिक /नयाँ मापदण्ड अनुसार कास्कीमा ६ वटा स्थानीय तह बनाउन स्थानीय तह निर्धारण समितिले प्रस्ताव गरेको छ । यसअघि ५ सय ६५ स्थानीय तह बनाउने तयारी गरिएपनि देशभरबाटै विरोध भएपछि संख्या थप भएको हो । कास्कीमा पनि यसअघि ५ वटा मात्रै तह बनाउन सिफारिस गरिएको थियो ।

अहिले आवश्यक परे एउटा तह थप गर्न सकिने आयोगले जनाएको छ । नयाँ मापदण्ड अनुसार अव पहाडी जिल्लाका गाउँपालिकामा २२ हजार मात्रै जनसंख्या भए पुग्छ । यसअघि यसको मापदण्ड २५ हजार थियो । नयाँ निर्देशन सँगै कास्कीमा अव न्यूनतम ५ देखि अधिकतम ६ वटासम्म स्थानीय तह बनाउन पाईनेछ । संख्या कम भएको भन्दै राजनीतिक वृत्तबाट असन्तुष्टि बढेपछि सरकारले असोज १२ मा इलाका समेतलाई आधार मानेर पुनः संरचना गर्न आयोगलाई नयाँ मापदण्ड तोकेको थियो ।

दसैं बिदापछि करिब एक साता बसेको आयोगको बैठकले संख्या टुंग्याएको हो । आयोगले पुनः संरचनाका लागि तय गरेको नयाँ कार्य शर्त तथा कार्यविधिमा न्यूनतम ५ सय ७ र अधिकतम ७ सय ४४ संख्या तोकिएको छ । यसअघि अधिकतम मात्रै तोकिएको थियो । अब जिल्लाहरुलाई न्यूनतम र अधिकतम संख्या उल्लेख गरी पठाइने भएको छ । जिल्लाले त्यसमा छलफल गरी उपयुक्त संख्याको सिफारिस आयोगलाई गर्नसक्नेछ ।

नयाँ आधारमा गाउँपालिकाका लागि हिमालमा १३, भित्री मधेसको पहाडी क्षेत्रमा २२, भित्री मधेसकै समथर भू–भागमा ४० र तराईका जिल्लामा पनि ४० हजार जनसंख्या तोकिएको छ । त्यस्तै, नगरपालिकाका लागि हिमालमा १७, पहाडमा ३१, भित्री मधेसको पहाडी क्षेत्रमा ३१, भित्री मधेसकै समथर क्षेत्रमा ६० र तराईका जिल्लामा ६० हजार जनसंख्या हुनुपर्ने आधार बनाइएको छ । नयाँ मापदण्ड अनुसार पुनः छलफल गरेर आयोगमा पठाईने स्थानीय विकास अधिकारी दामोदर भण्डारीले बताए ।

सकेसम्म जिल्ला तहमै छलफल गरेर टुंग्याईने उनको भनाई छ । हामीले केही भूभागलाई हिमाली मापदण्ड लागू गर्न माग गरेका थियौं, जिल्ला स्तरीय प्राविधिक सहयोग समितिका संयोजक समेत रहेका भण्डारीले भने–त्यसको सम्भावना देखिएन, जनसंख्या पुग्यो भने पहिलेको भन्दा एउटा थप तह निर्धारण गर्न पाईन्छ । उनका अनुसार जनसंख्याको मापदण्डका कारण थप एउटा तह बढाउन कठिन हुनेछ । समितिले शनिबार देखि नै जिल्ला स्तरीय राजनीतिक दलसँग छलफल थाल्ने तयारी गरेको छ । समितिले सुरुमा नयाँ खाका तयार गरेर छलफलमा प्रश्ताव गर्ने जनाएको छ ।

कमेन्टहरु
Loading...