पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै अन्नपूर्ण सेरोफेरो

जथाभाबी मोटरबाटो खन्ने क्रमले पदयात्रा पर्यटनमा चुनौती
पोखरा, १ कात्तिक / पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै गएको छ । नेपालका विभिन्न पदमार्ग मध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्यावलोकन सहित पदयात्राका लागि यस क्षेत्रमा पर्यटक आउने गरेका छन् ।

अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण पदयात्रामा आउने पर्यटकको संख्या घटे पनि यस वर्षमा पदयात्राको लागि आउने पर्यटकको संख्या बढ्दै गएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पर्यटन अधिकृत रेश्मी आचार्यका अनुसार २०१६ को अगष्टमा मात्रै चार हजार ३१० जना विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरिसकेका छन् ।

“अघिल्लो वर्षको तुलनामा यस वर्ष पदयात्राका लागि आउने पर्यटकको संख्यामा उत्साहजनक बृद्धि भएको छ,” उहाँले भन्नुभयो, “यस वर्षको अगष्टसम्म ४५ हजार १९१ जना पर्यटकले अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरिसकेका छन् ।” सार्क राष्ट्रबाट अगष्टमा ६२० जना पर्यटक पदयात्रामा सहभागी भएका छन् भने २०१६ को जनवरीदेखि अगष्टसम्म पदयात्रा गर्ने पर्यटकको संख्या ११ हजार ४६९ जना रहेकोे छ ।

अन्नपूर्ण सेरोफेरो विश्वकै प्रसिद्ध १० वटा टे«किङ रुट मध्येमा पाँचौं स्थानमा पर्ने पर्यटन व्यवसायी एवम् नेपाल ट्रेकिङ एशोसिएसन पश्चिमाञ्चल क्षेत्रीय संघका निवर्तमान अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । अन्नपूर्ण सेरोफेरोमा पूर्वाधार विकासको गति बढे पनि कमिसनका लागि अनावश्यक बाटो खन्ने क्रमले यस क्षेत्रका पदमार्गमा प्रत्यक्ष असर पुगेको उहाँको भनाइ छ । “पूर्वाधार विकास हुनु आवश्यक भए पनि त्यसका नाममा भैरहेका पदमार्ग मास्नु पदयात्रा पर्यटनका लागि गम्भीर चुनौती हो,” शर्माले भन्नुभयो, “ जथाभावी बाटो खन्ने नाममा पछिल्ला वर्षमा पदमार्गहरू छोट्याउने काम गरिएको छ, जुन पर्यटकीय हिसावले अनुचित छ ।”

पोखराको सराङकोटबाट अन्पुर्ण, माछापुच्छे लगाए हिमाल हेर्दै रमाउनदै पर्यटक तस्विर ः सागर राज तिमिल्सिना
पोखराको सराङकोटबाट अन्पुर्ण, माछापुच्छे लगाए हिमाल हेर्दै रमाउनदै पर्यटक तस्विर ः सागर राज तिमिल्सिना

अन्नपूर्ण सेरोफेरोमा रहेका पदमार्गको संरक्षणका साथै पछिल्ला समयमा विकास हुँदै गएका पोखरा–खयरलेक, पोखरा–हिडेनलेक, तेरिला पास, गुरुङ हेरिटेज ट्रेल जस्ता पदमार्ग मार्गको प्रचारप्रसार आवश्यक रहेको उहाँले बताउनुभयो ।
अन्नपूर्ण पदयात्रा अन्य पर्यटकीय गन्तव्यको तुलनामा सहज, उपयुक्त मौसम, आदिका कारण यस प्रति पर्यटकको आकर्षण बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकृत विख्यात शेरचन बताउनुहुन्छ । उहाँका अनुसार युरोपियन राष्ट्रका साथै सार्क मुलुकबाट पदयात्राका लागि आउने पर्यटकको संख्या पछिल्ला दिनमा बढीरहेको छ ।

अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण पदयात्रा गर्न आउने पर्यटक घटे पनि यस वर्षमा उत्साहजनक रुपमा पर्यटकहरू पदयात्राका लागि आउने गरेको शेरचनको भनाइ छ । अन्नपूर्ण सेरोफेरोमा पदयात्राका लागि विशेष गरी अगष्ट, सेप्टेम्बर, अक्टोबर र नोभेम्बरका साथै मार्च र अप्रिलमा ठूलो संख्यामा पर्यटक आउने गरेका छन् । अन्नपूर्ण सेरोफेरोमा उपल्लो मुस्ताङ, अन्नपूर्ण सर्किट ट्रेक, अन्नपूर्ण सेक्युरिटी ट्रेक, घान्द्रुक घोरेपानी सर्किट ट्रेक, घलेखर्क सर्किट ट्रेक राउण्ड मनास्लु, घाद्रुक, घम्पुस, जोमसोम, नारफूलगायतका दर्जनौं संख्यामा उत्कृष्ट पदयात्रा मार्ग रहेका छन् ।

नेपालमा आउने विदेशी पर्यटक मध्ये ७५ प्रतिशत भन्दा बढी विदेशी पर्यटक पदयात्राकै आउने गरेको नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दिपक अधिकारी बताउनुहुन्छ । पछिल्लो समयमा जथाभावी बाटो खन्ने प्रबृत्तिले पदयात्रा पर्यटन प्रभावित बन्दै गएको बताउँदै उहाँले सरकारले पदयात्रा मार्गहरूको पहिचान गरी ती क्षेत्रलाई पदयात्रा संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने उल्लेख गर्नुभयो । पर्याप्त सम्भावना बोकेका अन्नपूर्ण सेरोफेरो लगायतका क्षेत्रको पदयात्रा पर्यटनलाई बचाउनका लागि सरकारले दीर्घकालिन सोचका साथ तत्काल पहल गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको अधिकारीको भनाइ छ ।

अन्नपूर्ण सेरोफेरोको अधिकांश खण्डमा मोटर पुगेसँगै पदयात्रा अवधि छोटिदै जानुले पदयात्रा पर्यटनमा चुनौती थपेको बताउने पर्यटन व्यवसायीहरू पदमार्गकाृे संरक्ष्णका साथै बैकल्पिक पदमार्गको विकास गरिनुपर्ने बताउँछन् । अन्नपूर्ण फेरोको पदयात्रा अवधि २१ दिनको रहेकोमा ठाउँ ठाउँमा बाटो खनिएका कारण अहिले सो पदयात्रामा ५÷७ दिनमा नै सकिने गरेको छ । यस्तो क्रमले लामो समयको पदयात्रा रुचाउने पर्यटक पदयात्रा मार्गका अन्य विकल्प खोज्ने हुँदा त्यसले भैरहेको पदयात्रा पर्यटन प्रत्यक्ष प्रभावित हुने व्यवसायीको तर्क छ ।

अन्नपूर्ण क्षेत्रमा रहेको पर्यटकीय सम्भाव्यातालाई उजागर गर्न पछिल्ला समयमा विभिन्न संघ संस्था एवम् पर्यटन व्यवसायीहरू पदयात्रा मार्गको पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिन थालेका छन् । हालै अन्नपूर्ण क्षेत्रमा रहेको पदमार्गको प्रवद्र्धन गर्न १० बुँदे पर्यटन प्रवद्र्धन धम्पुस घोषणापत्र जारी गरिएको छ । गैर आवाशीय नेपाली संघ र सेन्चुरी पर्यटन व्यवसायी समितिले अन्नपूर्ण क्षेत्र अन्तर्गत पर्ने धम्पुस, छोम्रुङ हुँदै माछापुच्छ«े आधार शिविर पुग्ने ट्रेकिङलाई नयाँ ढंगले सञ्चालन गर्नका लागि धम्पुस घोषणापत्र जारी गरिएको छ ।

कमेन्टहरु
Loading...