पोखरा, १७ असोज /इभेन्टहरुको शहरका रुपमा परिचित पोखरामा लायन्सहरु प्रति समर्पित कार्यक्रम लायन्स नाइट सम्पन्न भएको छ ।
लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको आयोजनामा शनिबार अबेर सम्म फुलबारी रिसोर्टमा चलेको कार्यक्रममा गायकहरु सविन राइ, रामभक्त जोजिजु, गायिका इतु जोजिजुले गीत गाएका थिए भने नायिका सुष्मा कार्कीले नृत्य प्रस्तुत गरेका थिए विजयादशमीको शुभकामना सहित आयोजना गरिएको कार्यक्रममा लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वानका गर्भनर एमजेएफ लायन बालकृष्ण बुर्लाकोटी तथा निबर्तमान गर्भनर पिएमजेएफ लायन ध्रुबबहादुर थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा लायन्स तथा गैरलायन्सहरुको बाक्लो उपस्थिती रहेको थियो ।
सम्मानपछि बोल्दै लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वानका गर्भनर एमजेएफ लायन बालकृष्ण बुर्लाकोटीले क्लबको बार्षिक क्यालेण्डर अन्र्तगत हरेक वर्ष हुने लायन्स नाइटले लायन्सको ब्राण्डिङ्गमा ठुलो टेवा पुगेको बताए । सम्मानले आफृुलाइ उर्जा मिलेको बताउदै लायन्सले गर्ने फरक धारको कार्यक्रममा क्लबले गरेको कार्यक्रम बिशेष लागेका बताए ।
क्लबका प्रथम उपाध्यक्ष लायन बिष्णुबाबु खड्काले कार्यक्रमका बारे प्रकाश पार्दैै जसरी रेलको माउलाई रेलका डिब्बा तान्न उर्जा चाहिन्छ त्यसरी नै लायन्स क्लबहरुका लिडरलाई समाजसेवाको बाटो तर्फ अग्रपंक्तीमा सम्पुर्ण लायन्सलाई तान्न उर्जा चाहिने हुनाले लायन्स नाइट गभर्नर सम्मान कार्यक्रमको आवश्यकता महसुस गरि कार्यक्रम गरिएको बताए । लायन्स क्लबमा लायन्स गभर्नरलाई सम्पुर्ण क्लबको नेतृत्वकर्ताका रुपमा लिइन्छ ।
कार्यक्रममा गायक सविन राइले गुरासको फेद मुनि, कालो कालो रातको, सम्झनाहरुलाई बोलको गीत लगायत १ दर्जन गीत गाएका थिए । गायक रामभक्त जोजिजु तथा इतु जोजिजुले आफ्ना चर्चित तथा पुराना गायकहरुका सुमधुर गीत गाँउदा दर्शकहरु मन्त्रमुग्ध बनेका थिए भने नायिका सुष्मा कार्कीको नृत्यले माहौल तताएको थियो । क्लबका अध्यक्ष लायन सुदिप पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सन्जय मल्ल र निशा पन्थीले गरेका थिए ।

