पोखरा, २२ फागुन/दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक विजेता विन्दु पुन मगर लेकसाईड क्योकुसिन कराँते डोजाङद्वारा सम्मानित भएकी छिन् । लेकसाईड क्योकुसिन डोजाङकी प्रशिक्षार्थी पुनले पदक जितेर लेकसाईड डोजाङसहित खेलकुद र समग्रमा देशकै ईज्जत प्रतिष्ठा बढाएको भन्दै नगद दश हजार पाँच सय सहित सम्मानपत्रले सम्मान गरेको हो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्तबहादुर गुरुङले पुनलाई सम्मान गरे ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सदस्य नोना गुरुङ, नेपाल सिन क्योकुसिन कराँते संघका पश्चिमाञ्चल प्रमुख शिव गुरुङ र लेकसाईड डोजाङका अध्यक्ष अशोक लामाले अविर र खादा लगाएका थिए । विन्दुले माघ २२ गतेदेखी फागुन ५ गतेसम्म भएको बाह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा उसुको खुल्ला प्रतिष्पर्धामा रजत पदक जितेकी थिईन् । कराँते खेलाडी उनी उसुको एक महिने तालिम लिएलगत्तै छनौट भएकी थिईन् । म्याग्दी घर भएकी विन्दु हाल पोखरा–६ लेकसाईडमा बस्छिन् भने पोखराको मंगला शिक्षा कलेजमा कक्षा १२ मा अध्ययरत छिन् ।
एसियन खेलकुदमा सहभागिता जनाईसकेकी २१ वर्षिया विन्दुले यसअघी राष्ट्रिय स्तरको खेलमा ४ स्वर्ण जितेकी छन् । सम्मान कार्यक्रममा राखेप सदस्य फत्तबहादुर गुरुङले राज्यले खेलाडीको मूल्याङ्कन गरेर सम्मान गर्नुपर्ने बताए । उनले खेलकुदका विभिन्न संघसंस्थाले पनि खेलाडीलाई हौषला प्रदान गर्नको लागि सम्मान गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
सम्मानित खेलाडी विन्दु पुनले सम्मानले आफूलाई खेलमा लागिरहन हौषला प्रदान गरेको बताईन् । उनले आफ्नो लागि खेल नै जीवन भएकाले खेललाई निरन्तरता दिने प्रतिबद्धता जनाईन् । उनले कराँते खेललाई निरन्तरता दिएपनि उसुलाई प्राथमिकतामा राखेर खेलमा लागिरहने प्रण गरिन् ।
सम्मान कार्यक्रमको अवसरमा हालैमात्र कराँतेको व्ल्याक बेल्ट प्राप्त खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । लेकसाईड सिन क्योकुसिन कराँते डोजाङका प्रमुख अशोक लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव केवी लामाले गरेका थिए ।