पोखरामा खानेपानी वितरणमै समस्या, मध्य माघसम्म स्थायी पाईप जडान गरिसक्ने

रञ्जन अधिकारी
पोखरा, २५ पुस|  पोखराबासीले खानेपानीको अभाव व्यहोरिरहँदा विन्ध्यवासिनी स्थित मुख्य ट्यांकीमा पानी भरिएर ओभरफ्लो हुने स्थिति छ । स्थानीयवासीलाई पानीको हाहाकार भएपछि बोरिङ र ट्याकंर गुहार्नुपर्ने बाध्यता छ भने वितरण पाईप सानो भएकाले सहज आपूर्ति गराउन खानेपानी संस्थान असमर्थ छ । त्यसैले, पाईपको क्षमताअनुसार ट्यांकीसम्म पानी ल्याएमा यसको सदुपयोग नै गर्न नसकिने अवस्था छ ।

Pokhara drinking water problem - २०६९ वैशाख २३ गते सेतीबाढीले विभिन्न स्थानमा मुख्य पाईप नै बगाएपछि यहाँ पानीको थप अभाव भएको थियो
Pokhara drinking water problem – २०६९ वैशाख २३ गते सेतीबाढीले विभिन्न स्थानमा मुख्य पाईप नै बगाएपछि यहाँ पानीको थप अभाव भएको थियो

खानेपानी अपुग भएर होईन, ट्यांकीबाट वितरण हुने पाईप नै सानो भएकाले सबै क्षेत्रमा पु¥याउन मुस्किल भएको बताउँछन् नेपाल खानेपानी संस्थान, पोखरा शाखा कार्यालय प्रमुख बुद्धरत्न महर्जन । पोखरामा दैनिक ४ करोड १० लाख लिटर पानीको माग छ तर ५ करोड २६ लाख लिटर सामथ्र्य रहेपनि संस्थानले अहिले २ करोड ६० लाख लिटर पानी वितरण गरिरहेको छ । ट्यांकीसम्म ल्याईने १६ ईञ्च र २० ईञ्चको पाईपको क्षमता अनुसार पानी समेत ल्याउन सकिएको छैन ।

‘अस्थायी तबरले भएपनि अहिलेसम्म पानी ल्याएका छौं । पाईप नेटवर्क राम्रो नहुँदा सबै ठाउँमा पानी नपुगेको हो । वितरण प्रणाली सुधार गर्नुपर्नेछ ।’ महर्जनले भने – ‘सहयोगी संस्था जाईकासँग पहल भैरहेको छ । अर्को वर्ष जाईकाबाट ४२ किमी ठूलो पाईप र शुद्धिकरणको लागि प्लाण्टहरु प्राप्त भएपछि पोखरामा प्रशस्त पानी पुग्नेछ र नेपालकै नमूना शहर बन्नेछ ।’ यद्यपी, पछिल्लो समयमा सबै क्षेत्रमा सुधार भएको स्थिति रहेको उनले बताए ।

२०६९ वैशाख २३ गते सेतीबाढीले विभिन्न स्थानमा मुख्य पाईप नै बगाएपछि यहाँ पानीको थप अभाव भएको थियो । मर्दिबाट पोखरा ल्याईएको खानेपानीको २० ईञ्चको पाईप नै बगाएको थियो । यो डेढ वर्षे अवधिमा पोखरा खानेपानी आयोजनाले लगभग स्थायी पाईप जडान गर्ने कार्य सम्पन्न गरिसकेको आयोजनाका समेत प्रमुख रहेका महर्जनले जनाए । उनका अनुसार याम्दी स्थित भोटे क्याम्प, हेम्जाको लक्ष्मी नारायण मन्दिर क्षेत्र, तल्लो पुरुञ्चौर, मर्दी सेती दोभानमा स्थायी पाईप जडान गरिसकिएको छ । सेतीदोभानमा २० ईञ्च र १६ ईञ्चका पाईप रहेको पूलको जिर्णोदार गरिएको छ । ‘माथिल्लो पुरुञ्चौरमा मात्र बाँकी हो । माघमा सम्पन्न भईसक्छ ।‘ महर्जनले थपे – ‘बाढीले लगेपछि १६ ईञ्चको पाईपलाई सुरक्षाकर्मीको सहयोगमा कामचलाउ बनाईएको थियो । त्यसलाई स्थायी बनाईएको छ र बगाएको २० ईञ्चको स्थायी पाईप हाल्ने काम पनि अख्तियारमा उजुरीपछि रोकिएको हो । माघ मध्येसम्म बनिसक्छ ।”

पोखरामा पानीको अभाव भएपछि २० ईञ्चको ९० मिटरको अस्थायी पाईप जडान गरिएको थियो । महर्जनका अनुसार मंसीर २२ देखि चालू गरिएको उक्त पाईपमा २० देखि २५ प्रतिशतमात्रै पानी ल्याईएको छ । यसबाट ६२ लाख ५० हजार लिटर पानी आपुर्ति भएको उनको भनाई छ । ‘विन्ध्यवासिनीको ट्यांकीको क्षमता ४० लाख लिटर हो । पोखरा उपत्यकाका लागि पूरानो प्रोजेक्टको १६ ईञ्च र नयाँ २० ईञ्चको दुई पाईपबाट पानी भित्राईएको छ । वितरण पाईप चाहिँ १२ र १० ईञ्च मात्रै भयो । त्यसैले आवश्यक पानी भएर पनि वितरण गर्न नसकेका हौं ।’ महर्जनले भने ।

उनले फिर्के सम्म पाईप जोडिसकेको र प्रस्याङसम्म पनि २० ईञ्च पाईज जोडिरहेकाले यसबाट लेकसाईड बैदाम, सृजनाचोक, रत्नचोक, राष्ट्रबैंक चोक, ड्यामसाईड, न्यूरोड, नयाँबजारमा सुधार हुने बताए । सभागृहचोकबाट पृथ्वीचोकसम्म ८ ईञ्च थप गरेपछि एयरपोर्टदेखि विरौटा, छोरेपाटनसँगै त्यसबाट डाईभर्ट भएको पानी चाउथे सम्म पुग्ने जानकारी दिए । विन्ध्यवासिनीमा रहेको ट्यांकीको क्षमता सानो भएकाले १६ ईञ्चको पाईपबाट आएको पानी सिधै अर्मलाबाट महेन्द्रपुल, रानीपौवा लगायतका क्षेत्रमा वितरण गरिएको छ ।

यसैबीच, अर्मलामा खाडल परेका कारण सो क्षेत्रमा खानेपानी सेवा प्रभावित हुँदा ३ हजार घरपरिवार प्रभावित भएका छन् । कालिमुढाबाट ल्याईएको १० ईञ्चको पाईपमा क्षति पुग्दा खानेपानी आपूर्ति बन्द भएको संस्थानले जनाएको छ । मर्मतसम्भारका लागि अझै केही हप्ता नै लाग्ने भएकाले असुविधाप्रति संस्थानले सूचना नै जारी गरेर क्षमा मागेको छ ।

अर्मलामा खानेपानी सेवा सुचारु गर्ने सम्बन्धमा सोधिएको प्रश्नमा कार्यालय प्रमुख महर्जनले भने ‘हामी तयार छौं तर पीडित र राज्यबीच सहमति नभएसम्म मर्मत गर्ने अवस्था छैन । सभासद् शारदा पौडेलले पनि सर्वपक्षीय छलफल गरेर मर्मतसम्भारको काम अघि बढाउने बताउनुभएको छ ।’ उनले संस्थानले खानेपानी ट्यांकरबाट पानी वितरण थालेको पनि जानकारी दिए । उनले पोखरामा पानीको सहजताका लागि सबैलाई पानीको सही प्रयोग गर्न आग्रह गर्दै अनावश्यक रुपमा धारा खुल्ला नराख्न अनुरोध गरेका छन् ।

संस्थानको बोरिङका साथै नीजि खानेपानी वितरक संस्थाहरुबाट दैनिक ३० लाख लिटर पानी पोखरामा खपत भएको व्यवसायीहरु बताउँछन । पोखराका लागि विश्व बैंकको सहयोगमा २०४४ सालमा मर्दीबाट १६ ईन्चको पाईपमा पानी आपूर्ति भईरहेको थियो भने जापानको जाईकाको सहयोगमा मर्दीबाट नै २० ईन्चको पाईपबाट पानी आपूर्ति भएको हो ।

कमेन्टहरु
Loading...