विशाल बस्नेत
महोत्तरी । महोत्तरीका पूवशिक्षक केदार कोइराला रातु नदीको सभ्यता र यसका भित्री पाटाहरूका विषयमा गहन अनुसन्धान गरिरहेका थिए । उनले एक दिन आफुले रातु नदी सभ्यताको अध्ययन गरिरहेको जानकारी पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई गराए । यसबारे धेरै जानकारी जर्मनी नागरिकसँग भएको बताउँदै उनलाई भेट्न पूर्वमन्त्री पोखरेलले सुझाए । त्यसपछि कोइरालाले जर्मन अनुसन्धानकर्ता गुड्रन कार्विन्सले लेखेको प्रिहिज्टोरिक कल्चर्स इन नेपाल’ किताब फेला पारे । जहाँ रातु नदीको मानव सभ्यता र जिल्लामा रहेको पाटु गाउँको भित्री रहस्य उल्लेख गरिएको थियो ।
अहिले कोइराला कार्विन्सले अनुसन्धान गरेको ठाउँको थप अनुसन्धानमा जुटेका छन् । कार्विन्सले उक्त किताबको भोलम १, पृष्ठ २३९ मा अहिलेको पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पूरानो भएको उल्लेख गरेकी छन् । यसका लागि उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन् । रातो माटोले पुरिएको अवस्थामा हजारौ मध्य पाषण युगका हतियारहरु भेटिएपछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उनले आफ्नो किताबमा वर्णन गरिन् ।
मध्यपाषण १२ देखि १२ हजार बर्ष अघिको अवधि र ६ देखि १० हजार वर्ष अघिको नवपाषणको अवधिलाई भनिन्छ । यसरी गुड्रन कार्विन्सले गरेको अध्ययनअनुसार पाटुको १० हजार वर्ष अघिको अर्थात् मध्य पाषण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको छ । पहिले त कर्विन्सले नेपालमा ढुंगे युगमा मानव चहलपहल थियो भन्ने तथ्य विश्वलाई बताएकी छन् । कर्विन्स पाटुमा नै किन आइन् भन्ने विषय अझै रहस्यमय छ । तर, १० वर्ष लगाएर गरिएको अनुसन्धानपछि उनले निकालेको निष्कर्षको विषयमा भने धेरै मानिसहरु बेखवर छन् ।
शिवालिक पहाडको फेदीमा रहेको पाटु हतियार कारखानाको अवशेष जनवरी १९८५ मा पत्ता लगाएको उनले आफ्नो किताब (प्रिहिज्टोरिक कल्चर्स इन नेपालझ भोलम १, पुष्ट २३९, सन २००७) मा उल्लेख गरेकी छन् ।लेखक कमल मादेनले पनि पाटुमा नै आएर यसको थप अनुसन्धान गरेको पाइएको छ । उनले एउटा लेखमा भनेका छन्, ‘महोत्तरीमा फेला परेको पाटु कारखाना, रातु खोलाको पाटु कारखाना भनिदो रहेछ ।’
कार्विन्सले किताबमा उल्लेख गरेअनुसार ढुंगा, हड्डी वा काठबाट एकातिरको भाग धारिलो बनाएर बनाइएको साना हतियार, ढुंगाका टुक्राहरु हजारौ संख्यामा भेटिएका थिए । तिनीहरुलाइ ३० देखि ७० सेन्टिमिटर मुनि राता माटामा उत्खनन् गर्दा सजिलै भेटिए । अर्को रहस्य त के थियो भने हतियारहरुको स्वरूप भारतमा मध्य पाषण युगमा पाइएका जस्ता थिएनन् । यिनीहरु भियतनाममा पाइएजस्ता भएको हुनाले महोत्तरीमा मानवहरु भारततर्फबाट आएको दावी गरे पनि दक्षिणपूर्व तर्फबाट आएका थिए भन्ने संकेत गर्ने पनि उल्लेख गरिएको छ ।
कर्विन्स सबैभन्दा पहिला १९८१ मा नेपाल आएकी थिइन् । त्यसयता नेपालको प्रागऐतिहासिक जानकारी शून्य भइरहेको बेला उनले नै खोजको सुरुवात गरेकी हुन् ।यसअघि पुरानो मानवसभ्यताको खोज अनुसन्धान गर्ने क्रममा अफ्रिकी मुलुकमा दशकौँ बिताएकी थिइन् । दाङ–देउखुरी उत्पत्यका र पाटुमा उनले १० वर्ष लगाएर उक्त मानवसभ्यताको विषयमा अनुसन्धान गरेकी हुन् । अहिले पनि पाटु र राइमण्डलका स्थानीयहरु पुराना ढुंगाका बन्चरा जस्ता आकार भएका बस्तु तथा मानव सभ्यताका अवशेष पाइने बताउँछन् ।
पाटुका स्थानीय शंकर खडका आफूहरु सानोमा गाईवस्तु चराउन जाँदा अनौठा –अनौठा आकारका बस्तुहरु फेला पार्ने गरेको वताए । ‘ती बस्तुहरु हामी केटाकेटी हुँदा खेल्थौँ अनि फ्याँकिदिन्थ्यौँ,’ उनले भने । अहिले पनि जंगलमा गयो भने प्रागऐतिहासिक कालका किताब पढेजस्ता विभिन्न बस्तुहरु देख्न सकिने थापाको भनाइ छ ।
पाटुको विषयमा विश्वविद्याललयका प्रध्यापकहरु समेत निकै चासो व्यक्त गर्छन् । केदार कोइरालाका अनुसार कतिपय प्रध्यापकहरुले विद्यार्थीहरु कार्विन्सले खोजी गरेको हतियार कारखाना देखाउन ल्याए पनि ठाउँ एकीन गर्न नसक्दा अन्य ठाउँहरु पुग्ने गरेका छन् ।
के भन्छ स्थानीय सरकार ?
नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले पनि यो महत्वपूर्ण विषयलाइ छिट्टै छलफल गरेर उचित योजना बनाएर अगाडि बढ्ने वताए । बर्दिबास पर्यटन बोर्डको बैठक राखेर यस विषयमा थप खोजी गर्ने र प्रागऐतिहासिक वस्तुहरुको संकलन गर्ने मेयरका सचिवालय सदस्य विनोद ढुंगेलले बताए । ‘यसको विषयमा हामी लागि परेका छौँ । थप आन्तरिक छलफल गरेर युद्धस्तरमा काम गर्छौँ,’ उनले भने ।