बुधबार ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’ फिनाले

काठमाडौं । तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’ मा प्रस्तिस्पर्धा गरिरहेका अन्तिम एक्काइसलाई प्रतियोगीले टप मोडल राउण्ड र स्विमर राउण्ड पूरा गरेका छन् ।

विजेता छान्न ‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्गकार निर्णायकको भूमिका निर्वाह गरिरहेको प्रतियोगितामा उनीहरूले आफ्नो प्रतिभा देखाएका हुन् । बुधबार हुने फाइनलमा समेत उनी निर्णायक रहनेछन् ।

‘निकै प्रतिभावान प्रतियोगी पाएको छु । उहाँहरूको भविष्य यो क्षेत्रमा उज्वल देखेको छु’, निर्णायक प्रथ्मेशले भने,’पटक पटकको प्रयासपछि नेपाल आइपुगेको छु । यसअगाडी कोरोना भाइरसको कारण भएको कडाइले गर्दा आउँन सकेको थिइन् । यो बसाई मेरो लागि उपलब्धिमुलक भईरहेको छ ।’ उनले सुप्रानेसनल सबै परिवार रहेकाले नेपाल आइपुगेको र निर्णायकको भूमिकामार्फत अनुभव साट्न पाएको बताए ।

उनको नेपाल आगमन र प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुले अन्तर्राष्ट्रियस्तरमा छवि निर्माणमा सघाउने आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले जानकारी दिएको छ । नेपालमा प्याजेन्ट ल्याएर प्रतियोगिता गराईरहेका नेपाल निर्देशक सन्तोष उपाध्यायले मौलिङ्गकारको आगमनले विश्वसनीयता बढेको बताए । ‘उनले हाम्रो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गतिविधीमा सहभागी हुनेछन्’, निर्देशक उपाध्यायले भने ।

प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले प्रस्तिस्पर्धा गरिरहेका छन् ।

बेलाबखतमा ब्युटी प्याजेन्टलाई लिएर हुने मिलेमतोको चर्चालाई चिर्न पनि सन् २०१८ का सुप्रानेसनलका विश्व विजेताको निर्णायक भूमिका प्रभावकारी हुने उनको विश्वास छ । प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिनेछन् । जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रानेसनल र मिस्टर इन्टरनेशनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रानेसनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।

कमेन्टहरु
Loading...