पोखरा / पोखरामा रहेर फोटो पत्रकारिता रमाउँदै आएका प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे) ले आफ्नो २५ औं वार्षिक उत्सवका अवसरमा आयोजना गरेको अवार्ड कार्यक्रममा उनले अवार्ड प्राप्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले थापालाई प्रसंशा पत्र र अवार्ड हस्तान्तरण गरे । सो विधामा उत्कृष्ट ५ मनोनयनमा खिम लामिछाने, राधीका कंडेल, किरण आचार्य, रजनी तामाङ्ग पर्न सफल भएका थिए । उनिहरुलाई उन्छिन्दै थापाले अवार्ड हात पारेका हुन् ।
उक्त फोटोपत्रकारिता विधाको निर्णायकमा संस्थाका पूर्व अध्यक्ष मिनरत्न बज्रचार्य, राजभाइ सुवाल र आजीवन सदस्य राजन काफ्ले रहेका थिए । उनिहरुको नजरमा प्रेमको फोटो परेको हो । अवार्ड प्राप्त गरिसके पछि प्रेम खुशी देखिन्छन । मिहिनेतको प्रतिफल मिलेको अभिव्यक्ती उनको छ । आगामी समयमा समेत फोटो पत्रकारितालाई निरन्तरता दिंदै जाने प्रतिबद्धता उनले गरेका छन ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफुले पनि फोटोग्राफी सम्बन्धि तालिम लिएको स्मरण गरे । फोटो पत्रकारका सुख दुखमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनको छ । फोटो माध्यम देशको अवस्था झल्काउन सहज हुने भएकाले यहाँको सांस्कृतिक संरक्षणमा फोटो पत्रकारहरुको भुमिका महत्त्वपूर्ण रहेको भनाई उनको थियो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले पछिल्लो समयमा फोटो पत्रकारितामा युवाहरुको आकर्षण देख्दा खुशी लागेको बताए । फोटो पत्रकारितालाई पेशा बनाई जीविकोपार्जन गर्ने पत्रकारको संरक्षणमा सरकार लागेको भनाइ उनको छ ।