निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न परामर्श दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको पदावधि जेठ ५ मा समाप्त हुने भएकाले सोअगावै निर्वाचन गर्नुपर्ने विषय जानकारी गराएको हो ।
नेपालको संविधानको धारा २१५ को उपधारा (६), धारा २१६ को उपधारा (६), धारा २२० को उपधारा (५) तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ र दफा ५५ बमोजिम सम्पन्न गर्नु सरकार तथा निर्वाचन आयोगको संवैधानिक एवं कानुनी दायित्व रहेको व्यहोरा अवगत गराएको थियो ।
निर्वाचन व्यवस्थापनका लागि सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भए पनि त्यसलाई लक्षित गरी मतदाता नामावली सङ्कलन, मतदानस्थलको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वतयारीका अन्य कार्य निरन्तर गरिरहेकाले प्रस्ताव गरेको मिति तोकिएमा सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको जानकारी गराइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।