प्रेस चौतारी नेपालले संविधान र लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न माग गरेको छ ।
सो सङ्गठनका अध्यक्ष गणेश बस्नेतले आज विज्ञप्ति जारी गरी आम नागरिकको सेवासुविधासँग सरोकार रहेको स्थानीय तहको कार्यकाल सकिनै लाग्दासमेत सरकारले निर्वाचन मिति घोषणा नगरेकोप्रति ध्यानाकर्षण गरागराएका हुन् । नेपालको संविधानअनुसार आगामी २०७९ जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने र सो समय अगावै स्थानीय तहको निर्वाचन हुन नसके जनप्रतिनिधिको रिक्तता हुने चिन्ता व्यक्त गरिएकोछ ।
संविधानको धारा, २१५ र २१६ ले गाउँ/नगरपालिकाको अध्यक्ष÷प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित मितिले पाँच वर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको छ । धारा, २१४ ले स्थानीय तहको सञ्चालन, स्थानीय कार्यकारीबाट हुने व्यवस्था गरेको छ । चौतारीले गृह मन्त्रालयमार्फत सामाजिक सञ्जाल नियमनका लागि जारी सूचना जारी गर्नुभन्दा कानून निर्माण गरेर नियमन गर्न पनि माग गरेको छ ।