राज्यले किन देख्दैन उपल्लो डोल्पाको दुःख ?

जाजरकोट l उपल्लो डोल्पा एक भुगोल मात्र होइन, सीमा रक्षा गर्ने विनाबर्दीका सिपाहीहरूको खास ठाउँ हो । वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमकै बीचमा पनि जीवन चलाउनुपर्ने बाध्यता  छ ।

उपल्लो डोल्पा पुग्न भारी खर्चिलो छ । दूरीका हिसावले टाढा नभए पनि राज्यको आँखा नपर्दा उपल्लो डोल्पा जानका लागि फलामको चिउरा चपाउनुसरह मानिन्छ । ठूलो जिल्लाको रुपमा परिचित भए पनि डोल्पावासीको जनजीवन निकै कष्टपूर्ण रहेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुण्डुप गुरुङले बताए

‘चामलकै लागि हामीले राज्यलाई ज्ञापनपत्र बुझाउनु पर्छ । उपल्लो डोल्पामा औषधि नपाएर मानिस मर्दा सामान्यझैँ लाग्छ राज्यलाई । तर, काठमाडौँमा कुकुर मर्दा बजारभरि चर्चा हुन्छ,’ उनले भने । राज्यको स्रोत परिचालन र वितरण प्रणाली पक्षपाति हुँदा डोल्पामा दुःख पाएको उनको भनाइ छ ।

उपल्लो डोल्पाका तीन पालिकाको हावा, पानी र भूगोल सबै मिलेकोले स्वायत्त क्षेत्र घोषणा गरेर छुट्टै प्याकेज बनाई विकास गर्नुपर्ने स्थानीय ग्याल्वो भोटेले बताए ।

डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ऐतिहासिक, धार्मिक, तथा पर्यटकीय पृष्ठभूमिसंग जोडिएको छ । साल्दाङस्थित ऐतिहासिक तथा धार्मिक स्थल शे गुम्बा र फोक्सुण्डो रिग्मो गाउँ र पर्यटकीय स्थल फोक्सुण्डो ताल यहाँ छ । यो ठाउँमा जानका लागि स्थल मार्ग हुँदै सदरमुकामबाट कम्तिमा दुइ दिन लाग्छ । घोडेटो बाटो हुँदै पैदल हिँडेर जानुपर्छ ।

सडक सञ्जालसँग नजोडिएको यहाँ हिउँ चितुवा, कस्तुरी र जडिबुटी प्रशस्त पाइन्छ । तर, देशमा व्यवस्था बदलियो, डोल्पाको अवस्था बदलिएन ।
उपल्लो डोल्पामा सधै झै चिसो भएपनि यो समयमा भारी हिमपातले  झनै चिसो खपिनसक्नु छ  । तापक्रम माइनसमा झरे पनि यहाँका मानिसहरू अफ्नो दिनचर्या चलाउन बाध्य छन्  । केही हुने खानेहरू ओलतीर झरे पनि अधिकांश सर्वसाधारणहरू उपल्लो डोल्पामै छन् ।  मुसी, निजाल, फोत, कु, साल्दाङ, कराङ, कोमा, नाम्दो, भिजेरलगायतका गाउँका मानिसहरू चिसोमा मुकाविला गर्दै थाकथलो छोकेका छैनन् ।

हिउँमा चौंरी, याक र घोडामा सामान बोकाएर जीवन निर्वाह गर्नु पर्दाको डोल्पाली दुःखी छन् । तल्लो डोल्पा झर्नेहरू हिउँदको करिब ६ महिना काइगाउँ, कागेनी, सुलिगाड, पहाडामा टेन्टमा हिउँद गुजार्छन् । केहीको अस्थायी घर छ । केही भने कोठा भाडामा लिएर बस्छन् ।

उपल्लो डोल्पालीले औल झर्नुअघि उवा, फापर, आलु, गहुँलगायतका बाली थन्क्याइसक्छन् । उनीहरूलाई आफ्नो उत्पादनले तीनदेखि चार महिनासम्म मात्र खान पुग्छ । बाँकी समयका लागि तिब्बत र दुनैबाट खाद्यान्न किनी घोडा र खच्चडलाई बोकाएर ल्याउनुपर्छ ।

वैशाख लागेपछि उपल्लो डोल्पा जानेको फेरि अर्को लाग्छ । फर्कनासाथ बाली लगाउने र यार्सागुम्बु संकलन गर्ने समय हुन्छ । यार्चागुम्बु उपल्लो डोल्पालीको मुख्य आयस्रोत हो । पशुपालन र व्यापार वैकल्पिक आयस्रोत हुन ।

शे–फोक्सुन्डो, छार्का ताङसोङ र डोल्पोबुद्ध तिब्बतसँग जोडिएका छन् । सदरमुकाम दुनै सडक सञ्जालले जोडिए पनि त्यसमाथि सडक छैन । उपल्लो डोल्पाका बस्तीसम्म पुग्न दुनैबाट एक सातासम्म हिँड्नुपर्छ । सवारीको मुख्य साधन घोडा हो । खच्चडबाट दुनै र त्रिपुराकोटबाट सामान ढुवानी गरिन्छ ।

साल्दाङ शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र र सबैभन्दा ठूलो गाउँ हो । फोक्सुन्डो ताल र करिब एक हजार वर्ष पुरानो शे र सामलिङ गुम्बा यहीं छन्  । उपल्लो डोल्पा पदयात्राका लागि प्रख्यात रहेको ठाउँ हो  ।

शे–फोक्सुन्डो गाउँपालिकासँग तिब्बतको क्याटो नाका जोडिएको छ । सबै स्थानीयको मुख्य बजार नै क्याटो हो । कोभिड संक्रमणका कारण उक्त नाका खुलेन । छिमेकी डोल्पोबुद्ध गाउँपालिकासँग तिब्बतकै मरिम–ला नाका जोडिएको छ । धो तराप, ताक्सी, सिमेनका बासिन्दा उक्त बजारमा किनमेल गर्छन् । तर, ति सबै अहिले हिमपातले गर्दा जान सक्ने र आउन सक्ने अवस्था छैन ।

संघीय सरकारले दुवै नाकालाई खुला गर्ने प्रक्रिया अघि बढाएको भने पनि त्यो परिणाममा उपल्लो डोल्पालीले देखेका छैनन् । उपल्लो डोल्पाका बालबालिकाले हिमपातका समयमा नियमित पाउने खोप समेत पाउदैनन् । अहिले देशैभरि चलेको कोभिडको खोपसमेत उपल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् ।

-हेमन्त केसी

कमेन्टहरु
Loading...