अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा अभिनय गर्न लागेको विषयले केही महिनाअघि खुबै चर्चा पायो । स्वस्तिमाको भूमिकालाई लिएर पनि सञ्चारमाध्यममा टिकाटिप्पणी भयो ।
ट्रेलरमा नेपाली अभिनेत्री स्वस्तिमा खड्का र कलाकार माओत्से गुरुङलाई देख्न सकिन्छ । ट्रेलरमा स्वस्तिमाको आइटम डान्स समावेश छ । फिल्ममा उनी एक आइटम गीतमा मात्र देखिनेछिन् भने माओत्सेको महत्त्वपूर्ण भूमिका रहेको जानकारी प्राप्त छ ।
राजीव सेट्टीको निर्देशनमा तयार भएको चलचित्रमा विपिन जर्ज र धर्माजन बोलगाटी छन् । चलचित्रमा नेपालका रमणीय दृश्य हेर्न सकिन्छ । नेपाल घुम्न आएका दुई व्यक्तिको कथामा यो चलचित्र घुमेको जनाइएको छ ।
हिन्दी, मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा रिलिज हुने फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरीश कणरण, अन्ना राजनका साथै नेपाली कलाकार उमेश तामाङको पनि अभिनय छ । फिल्मलाई फजल अलीले खिचेका हुन् । एस के लरेन्स र रानी लरेन्स निर्माता रहेको फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन ।