माओवादीप्रति जनताको विश्वास बढिरहेको छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिएको विचार, नीति तथा कार्यक्रमका कारण माओवादीप्रति जनताको विश्वास बढिरहेको बताएका छन् ।

पार्टीको कीर्तिपुर नगर समितिले विभिन्न चाडपर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेका छन् । हामीले राम्रो काम गरेर पनि जनतालाई बुझाउन नसकेको हो ।” उनले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभइ जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताए ।

“कम्युनिष्टले परसम्म जाने सपना देख्छन् त्यसकारण सपना देख्नु जायज हो ।” अध्यक्ष दाहालले राम्रो सपना देखेर पूरा गर्नका लागि सङ्घर्ष गर्नु कम्युनिष्टको चरित्र र विशेषता भएको बताए। “हामीले धेरै सपना देख्यौं । जनयुद्ध, शान्ति प्रक्रिया, संविधान गणतन्त्र यी सबै हामीले सपना देखेर पूरा भएका हुन् ।” आफूहरुले संविधानमा मतभेद राखेरै भए पनि जारी गरेको स्मरण गर्दै अनुकूल समयमा संविधान संशोधन गरेर जाने उनले बताए ।

फरक प्रसङ्गमा उनले भने “अहिले माओवादीमा प्रवेश गर्नेको लहर देखिन थालेको छ । पार्टीमा उभार आउन अझै बाँकी छ, त्यसका लागि जनता कार्यकर्ता जाग्नुपर्छ ।” अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेको उनको भनाइ थियो । भूमिहीनलाई लालपूँर्जा दिने काम कीर्तिपुरबाट सुरु गर्न सम्बन्धित मन्त्रीलाई आवश्यक सुझाव दिएको अध्यक्ष दाहालले बताए ।

कमेन्टहरु
Loading...