पोखरा । नेकपा एमालेको पालिका अधिवेशन अन्तरगत कास्कीका पाँचवटा स्थानिय तहमध्य तीनवटाको टुङ्गो लागेको छ ।
मंगलबार राती अवेरसम्म लगाएर कास्कीका रुपा , अन्नपूर्ण र मादी गाउँपालिका कमिटीको अधिवेशनबाट नेतृत्व सर्वसम्मत चयन भएको हो ।
रुपामा सवावक्स मियाँले नै निरन्तरता पाउँदा मादी र अन्नपूर्णमा भने युवा नेतृत्व आएको छ । बालकृष्ण गुरुङ र विवेक देवकोटा क्रमशः मादी र अन्नपूर्णको अध्यक्ष बनेका छन् ।
पाँच पदाधिकारीमा अन्नपूर्ण र मादीमा नयाँ युवा नेतृत्व चयन भएका छन भने रुपामा केही पदमा मात्रै युवाले जिम्मेवारी पाएका छन् ।
देशभरका वडाहरुमा युवाहरुको नेतृत्व आइरहंदा पोखरा महानगरपालिका कमिटीमा पनि युवा कै नेतृत्वको आवश्यक रहेको प्रतिनिधिहरुको प्रतिक्रिया रहेको छ ।
पोखराको नेतृत्वका लागि दिपक पौडेल , युवा नेता दिलिप न्यौपाने , तेज नारायण अधिकारी , धन बहादुर नेपाली र हरि त्रिपाठीले उम्मेदवारी दिएका छन् ।
मंगलबार सुरु भएको अधिवेशन सहमतिका लागि भन्दै विहिबार विहान १० बजेपछि संचालन हुने गरि बुधवार साँझ स्थगित गरिएको छ ।
अध्यक्ष बाहेक अन्य पदमा पनि धेरै जनाको उम्मेदवारी दर्ता भएपनि सहमतिका लागी अधिकतम प्रयास भइरहेको एक नेताले बताए ।
एमालेको विधान अनुसार नगर कमिटीमा एकजना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव र २ जना उपसचिव हुने हुने व्यबस्था छ ।
पोखरा महानगर कमिटीको उपाध्यक्ष पाँच जनाको उम्मेदवारी परेको छ । जसमा राजकुमारी भुजेल, बैनबहादुर गुरुङ, उमा परियार, मोहन गुरुङ र सुस्मिता केसी भट्टराई रहेका छन् । यसै गरि सचिवमा जीवनप्रसाद आचार्य र गोकर्ण अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।
उपसचिवमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अन्तिम नामावली अनुसार दलबहादुर खत्री, हरिमाया गुरुङ, सिमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुन, वीरेन्द्र भण्डारी, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुवास ढुंगाना र सीता विक उम्मेदवार बनेका छन् ।
उम्मेदवारहरु धेरै रहेपछि सकेसम्म सर्वसम्मतको प्रयासमा नेताहरु जुटेका छन् । खास गरि एमाले केन्द्रिय सदस्य तथा कास्कीमा प्रभावशाली मानिने खगराज अधिकारी , प्रदेश अध्यक्ष जगत विश्वकर्मा , केन्द्रिय सदस्यहरु भीम कार्की र सिता गिरी ओली निरन्तर सहमतिको प्रयासका लागि छलफलमा जुटेपनि सबैले आ-आफ्ना उम्मेदवारको पक्षमा अडान नछोड्दा सहमति जुट्न नसकेको हो ।
माछापुच्छ्रेमा पनि सहमति जुट्न नसक्दा अझै नेतृत्व चयन हुन सकेको छैन ।
बुधवार साँझ अधिवेशन स्थलमा मतपेटीका ल्याइएपछि चुनावी प्रक्रिया नै सुरु हुन लागेको मतदान स्थलमा भेटिएका कार्यकर्ताहरुको बुझाई छ ।