गलकोटेलाई पोखराका अस्पतालमा छुट

बागलुङ । बागलुङको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन् । फेवासिटी र पश्चिमाञ्चल सामुदायिक अस्पतालले औषधिमा पाँच प्रतिशत र उपचारमा रोगको प्रकृति हेरेर १० देखि २० प्रतिशतसम्म छुट दिन थालेको हो ।

गलकोट समाज पोखराको पहलमा अस्पतालले बिरामीलाई उपचार खर्चमा विशेष छुट दिएका हुन् । समाज र अस्पताल व्यवस्थापकबीच द्विपक्षीय सम्झौता भई गलकोटवासी सर्वसाधारणले सेवा लिन सुरु गरिसकेको समाजका अध्यक्ष खडकबहादुर थापाले जानकारी दिए । छुट सुविधा सधैँका लागि हो ।

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट उपचारका लागि स्थानीय तहको बासिन्दा रहेको परिचय खुल्ने कागजातका आधारमा समाजको सिफारिसपत्रका आधारमा बिरामीले छुट पाउँछन् । एक्स–रे, प्रयोगशाला सेवालगायतमा छुट गरिएको अध्यक्ष थापाले भने ।

 

 

कमेन्टहरु
Loading...