गन्थन संवाददाता, पाेखरा । कास्की जिल्ला पटका निशेधित क्षेत्र भएकाले चाडबाडका नाममा पटका/आतिसबाजी पड्काउने गतिविधिलाई रोक्न जिल्ला प्रशासन कार्यालय कास्कीसँग यहाँका नागरिक अगुवाहरुले माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई बुधबार ३ बुँदे ज्ञापनपत्र बुझाउँदै उनीहरुले उक्त माग गरेका हुन् ।
तिहार, नयाँवर्ष तथा पर्यटकको आकर्षणको नाममा गरिने पटाका/आतिसबाजी पड्काउने गतिविधिलाई रोक्न, विद्यालय, मन्दिर, अस्पताल, खेलमैदान एवं धार्मिकस्थलदेखि १०० मिटर भित्रको दुरीमा मदिराजन्य तथा सुर्तिजन्य पदार्थको विक्री वितरण र प्रयोग गर्न प्रतिवन्ध लगाउनुपर्ने उनीहरुको माग छ ।
साथै पोखरालाई हर्न निशेधित क्षेत्र घोषणा गरिएपनि हाल उक्त घोषणा प्रभावहीन हुँदै गएकाले पूर्णरुपमा कार्यान्वयनका लागि विशेष पहल गरिदिन नागरिक अगुवाहरुले प्रशासनसँग आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र नागरिक समाज कास्कीका संयोजक इन्द्रकमल मानन्धर, वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेल, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरी अधिकारी र नागरिक समाज कास्कीका प्रवक्ता गोकुलबहादुर कार्कीले बुझाएका थिए ।
