कमल सुवेदी । गण्डकी प्रदेश सरकारले आज प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गण्डकीका प्रमुख तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै काम एमालेले गरेको र घोषणा अहिलेको गठबन्धन सरकारले गरेको आरोप लगाएका छन् ।
प्रदेश साक्षर भैसकेपछि घोषणा कै बेला सरकार परिवर्तन भएको र अहिलेको सरकारले घोषणा मात्र गरेको उनले बताएका हुन् । उनले भने, ‘उहाँहरुले घोषणा मात्र गर्नुभएको हो, हामीले ३ वर्षमै पुरै काम गरिसकेका थियौं । घोषणा गर्ने तरखर गरिरहेकै बेला सरकार ढल्यो, घोषणा गर्न पाइएन, अहिले उहाँहरुलाई सजिलो भयो ।’
यो सरकारले कुनै पनि काम नै नगरी घोषणा गरेको उनको आरोप छ ।
साक्षरता घोषणा कार्यक्रममा प्रतिपक्ष दलको उपस्थिति देखिएन भन्ने गन्थनको प्रश्नमा निवर्तमान मुख्यमन्त्री गुरुङले भने, ‘कालो धनलाई सेतो बनाउने, अर्थ मन्त्री आउने, प्रधानन्यायधिशको कोटामा मन्त्री नियुक्ति गर्ने प्रधानमन्त्री उपस्थित भएको कार्यक्रममा म किन जाने ?’
आजको घोषणा कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको उपस्थिति थिएन ।