पोखरा । राष्ट्रिय बहिरा महासंघ नेपालले शिक्षक, अभिभावक र बालबालिकाका लागि लक्षित गरी आयोजना गरेको चार दिने अभिमुखीकरण तालिम पोखरामा जारी छ।
सरकारको सबैका लागि शिक्षा नीति अनुसार महासंघले श्रवणदृष्टि विहीन भएका बालबालिकाहरुको समावेशी शिक्षामा प्रवद्र्धन आयोजना अन्तर्गत कास्कीमा तालिम सञ्चालन गरेको हो ।
आयोजना काठमाडौं, रुपन्देही, मोरङ र कास्कीमा सञ्चालन गर्ने लक्ष्यअनुसार पोखरामा पहिलो दिन कास्कीका सबै स्थानीय तहका शिक्षा महाशाखा प्रमुखहरुलाई अभिमुखीकरण दिइसकेको छ ।
जन्मजात श्रवणदृष्टि विहीन भएका वा जन्मेपछि श्रवणदृष्टि विहीन भएका बालबालिकाहरुलाई विद्यालयको पहुँचमा पुयाई उनीहरुलाई शिक्षा दिलाउन महासंघले जागरण स्वरुप तालिम सञ्चालनमा ल्याएको परियोजना संयोजक शंकरसिंह चैशिरले जानकारी दिए ।

तालिममा कास्कीका सृजना बहिरा मावि र अमरसिंह माविका शिक्षक सहभागी भएको उनले बताए ।
‘श्रवणदृष्टि विहीन बालबालिका शिक्षाको पहुँचमा भएको देखिँदैन । उनीहरुलाई शिक्षाको पहुुँचमा ल्याउनका लागि महासंघले परियोजना सुरुवात गरेको हो,’ उनले भने, ‘उनीहरु सम्बन्धित पढाई हुने सामुदायिक विद्यालयका शिक्षक र तिनका अभिभावकसँगै शिक्षा प्रशासकलाई पनि हामीले अभिमुखीकरणमा जोडेका हौं ।’
जन्मजात श्रवणदृष्टि विहीन भएका बालबालिकालाई अध्ययन गराइरहेका विद्यालयमा जन्मेपछि त्यस्ता समस्या देखिने बालबालिकालाई पनि अध्ययन नछुटाई निरन्तरता दिन अभिमुखीकरणले सघाउने परियोजना संयोजक चैशिरको विश्वास छ ।
श्रवणदृष्टि विहीन बालबालिकाका लागि तयार गरिएको शैक्षिक पाठ्यक्रमलाई उनीहरुसमक्ष सहज सञ्चार गराउने विधिबारे तालिममा सिकाइने छ ।
असोज १५ गतेसम्म सञ्चालन हुने तालिमको स्रोत व्यक्तिको रुपमा महासंघका सिनियर डेफब्लाइन्ट एजुकेटर दुर्गादत्त जोशी, परियोजना संयोजक शंकर सिंह चैशिर र श्रवणदृष्टि विहीन संघ नेपालका अध्यक्ष पुष्पराज रिमाल रहेका छन् ।
महासंघको परियोजना अन्तर्गत नेपालमै पहिलोपटक रुपन्देही मणिग्रामस्थित शान्ति नमूना माविमा श्रवणदृष्टि विहीन स्रोत कक्षा १ वर्षदेखि सञ्चालनमा ल्याएको छ ।
उक्त विद्यालयमा ९ जना श्रवणदृष्टि विहीन बालबालिका अध्ययनरत रहेको परियोजना संयोजक चैशिरले बताए ।

यसै वर्षदेखि मोरङ विराटनगरस्थित आदर्श माविमा श्रवणदृष्टि विहीन १२ जना बालबालिका परियोजना अन्तर्गत अध्ययन गरिरहेको उनले बताए । परियोजनामा रूपिन्स, सेन्स इन्टरनेसनल र सेन्स इन्टरनेसनल इन्डियाको सहकार्य रहेको छ ।