गन्थन संवाददाता । राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको मानव अधिकारमैत्री पत्रकारीता तालिम आजबाट शुरु भएको छ । मनाङ बाहेक गण्डकी प्रदेशका अन्य १० जिल्लाका पत्रकारलाई ३ दिने तालिम आज (बुधबार)बाट शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले पत्रकारले मानव अधिकारको कुरामा ध्यान दिनु पर्ने बताए । साथै सरकारले गरेका राम्रा काम भन्दा नराम्रो कामलाई प्राथमिकतामा राखिएकोमा दुखेसो समेत पोखे । समाचार लेख्दा चेक एण्ड ब्यालेन्स गर्नु पत्रकारको धर्म भएपनि समाचार लेख्दा पत्रकार उक्त कुराबाट पन्छिएको उनले भने । अव आउने आम सञ्चार विद्ययक सञ्चारमैत्री हुने मन्त्री थापाले बताए । सञ्चार विद्ययक विधायन समितिमा भएकाले सबैको सल्लाहमा नेपालकै उत्कृष्ट बनाइने उनको भनाई थियो ।
तालिमको उदघाटन कार्यक्रममा मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेल, नेपाल पत्रकार महासंघकी अध्यक्ष विमला भण्डारी, पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पत्रकार सुष्मा पौडेल, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव गोविन्द सुवेदीलगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता आयोगकी सदस्य लिलि थापाले गरेकी थिइन् ।
उक्त ३ दिने तालिममा पहिलो दिन खिमलाल सुवेदी, बिना सिलवाल, डा. टिकाराम पोखरेलले प्रशिक्षण गराउने छन् । त्यस्तै दोश्रो दिन लिलि थापा, दिपेन्द्र सिंह, डा. टिकाराम पोखरेलले प्रशिक्षण गराउने छन्भने अन्तिम दिन गोविन्द सुवेदी र डा. सुर्य ढुङ्गेलले गराउने छन् ।
