चीनको नानिङ शहरबाट पोखरा महानगरलाई २० लाख बराबरको स्वास्थ्य सामग्री

पोखरा । पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले पोखरा महानगरपालिका २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्रीलाई आज महानगर परिसरमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे ।

उपप्रमुख गुरुङले पोखरा महानगरले १३ वटा अन्तराष्ट्रिय सम्बन्ध मध्ये ९ वटा चीनका विभिन्न शहरसँग भएको जानकारी दिइन् । २०७४ पौष २६ गते पोखरा महानगर र चीनको नानिङ शहर बीच भगिनी सम्बन्ध रहेको उल्लेख गर्दै प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले नानिङ शहरका मेयरलाई धन्यावाद पत्र पठाउँदै कोरोना सहज पछि पोखरा भम्रणको आमन्त्रण गरिने बताइन् । महामारी नियन्त्रणमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाउँदै प्राप्त सामग्रीलाई आवश्यकताको आधारमा अस्पतालहरुलाई वितरण गर्ने जानकारी दिइन् ।

परिषद्का अध्यक्ष भट्टराईले उक्त शहर चीनको नमुना शहर भएको उल्लेख गर्दै भगिनी सम्बन्ध स्थापित शहरको साथ र सहयोगले आगामी दिनमा पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । महामारीको कठिन समयमा २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेर मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ गराएको उनको भनाइ थियो । उनका अनुसार स्वास्थ्य सामग्री अन्तर्गत ५ वटा अक्सिजन कन्सन्टेटर मेशिन, मेडिकल मास्क बीसहजार पिस, पिपिइ सेट पाँचसय पिस, मेडिकल पञ्जा पाँचहजार पिस गरी २० लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको जानकारी दिए ।

रेवानका उपाध्यक्ष नरेश भट्टराईले चीनका विभिन्न शहरसँग भएको भगिनि सम्बन्धले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको जनाउँदै कोराना रोकथाम र नियन्त्रणमा प्राप्त स्वास्थ्य सामग्रीले उपचारमा सहज हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा चाइना ओभरसिज एसोसियशनका अध्यक्ष चाङ र सचिव साङ सावो (सन्देश), पोखरा महानगरका विभिन्न वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...