नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन्ः अर्थमन्त्री

काठमाडौँ । सरकारले आगामी दिनमा निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउने दृढता व्यक्त गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा सार्वजनिक संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेटवर्कका प्रतिनिधिले सार्वजनिकस्थल अपाङ्गमैत्री नभएको, तीनपाङ्ग्रे सवारीसाधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाका लागि आवश्यकपर्ने स्वास्थ्य सामग्री सहज रुपले उपलब्ध हुनुपर्नेलगायतका माग राखेका थिए ।

उनीहरुले शर्मा गृहमन्त्री हुँदा अपाङ्गता भएकाका लागि महत्वपूर्ण सहयोग प्राप्त भएको स्मरण गर्दै अब पनि माग सम्बोधन हुने आशा व्यक्त गरेका छन् । प्रतिनिधिमण्डलको आग्रहअनुसार पुराना संरचनालाई भत्काएर अपाङ्गमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपाङ्गमैत्री बनाइने आश्वासन मन्त्री शर्माले दिएका उनको सचिवालयले जनाएको छ । उनले घाइते तथा अपाङ्गता भएकाको समस्या सम्बोधन हुने गरी नीतिगत समाधान निकाल्ने कोशिस भइरहेको जानकारी दिए ।

कमेन्टहरु
Loading...