सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक बढे

देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन् ।

खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका हुन् । लामो समयसम्म कोरोना महामारीका कारण सुनसान रहेको यो क्षेत्रमा पर्यटक भित्रिन थालेपछि व्यापार व्यवसाय पनि बढ्दै गएको पाइएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा नेपाली र भारतीय पर्यटक प्रतिदिन बढ्न थालेका छन् । खप्तड पर्यटन विकास क्षेत्रका अनुसार पछिल्ला हप्तामा कोरोनाका सङ्क्रमित घटेर निषेधाज्ञा खुकुलो भएसँगै खप्तड क्षेत्रमा पर्यटक भित्रिन थालेका हुन् ।

जिल्लामा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा अघिल्लो हप्तामात्र एक हजारभन्दा बढी आन्तरिक पर्यटक यहाँका पर्यटकीय र धार्मिक क्षेत्रको भ्रमणका लागि आएको बताइएको छ । जिल्लाको अर्को प्रमुख पर्यटकीयस्थल जोरायल गाउँपालिका–२ बुडर बजार नजिक रहेको छहरा झरनामा पनि हिजोआज पर्यटकको घुइँचो लाग्न थालेको छ । बढ्दो गर्मी छल्न पनि जिल्लाका पर्यटक उक्त झरनामा पुग्ने गरेका छन् । यहाँ दैनिक सयौँ पर्यटक आएर मनोरञ्जन लिने गरेका छन् । कैलाली तथा कञ्चनपुरसहितका यहाँका अन्य सातवटा पहाडी जिल्लाको केन्द्रविन्दुमा रहेको सो झरनामा रमाउन आउने पर्यटकका कारण यहाँको चहलपहल पनि निकै बढेको पाइएको छ ।

अत्तरिया–स्याउले जोड्ने भीमदत्त राजमार्गसँगै जोडिएको उक्त पर्यटकीय क्षेत्रमा आउने पर्यटकका कारण यहाँको चहलपहल तथा व्यापार व्यवसाय बढेको जलादेवी फेन्सी स्टोर बुडरका सञ्चालक लोकबहादुर मल्लले बताए ।उनले भने, “छहरा झरना निकै आनन्द दिने ठाउँ छ, बर्सातले अहिले उक्त झरनामा पानी पनि निकै बढेको छ, त्यही हेर्न पर्यटक आउने गरेका कारण यहाँ चहलपहलका साथै व्यवसाय पनि बढेको हो ।”

दोस्रो चारणको कोरोना भाइरस कोभिड–१९ का कारण निकै आक्रान्त बनेका यहाँका नागरिक कोरोना सङ्क्रमण दर घटेसँगै अहिले मनोरञ्जन तथा आनन्द लिनका लागि पनि यहाँ आउने गरेको स्थानीयवासी बताउँछन् । कैलाली र कञ्चनपुर जिल्लाबाट आउने पर्यटक बिहान आएर दिनभर झरनामा रमाउने र बेलुका फर्कने गरेका छन् भने अन्य जिल्ला बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा, डडेल्धुरा तथा डोटीबाट आउने पर्यटक एक÷दुई दिन बस्ने गरेका स्थानीयवासी तथा सञ्चारकर्मी शिवसिंह ओलीले बताए ।

कमेन्टहरु
Loading...